रावण संक्षिप्त जिवनी ?
वैदिक हिन्दु धार्मिक ग्रन्थहरूका अनुसार, रावण शास्त्रका धुरन्धर विद्वान थिए, उनी दस टाउका भएका महान ज्ञानी थिए र यहि कारण रावणलाई दसानन् भनिन्थ्यो । रावणका दश टाउकोले उनको शक्तिको प्रतिनिधित्व गर्थे । यति मात्र कहाँ हो र रावण स्वय ब्रह्मा जिका मानस पुत्र ऋषि पुलस्त्यर बुहारी हविभुर्वाका नाति र ऋषि विश्रर्वा-राक्षस पुत्री कैकसीका छोरा थिए ।
उनको बंश नै विद्वत्ताले भरिएको थियो । तर उनकि आमा कैकसी रासक्ष सुमाली-ताडका कि छोरी थिइन्, त्यसकारण रावण ज्ञानी भएरपनि उनमा राक्षसी गुण र स्वभावको प्रत्यक्ष असर पर्न गएका कारण उनलाई राक्षस भनिन् थालियो ।
रावण नाम कसरी रहन गयो ?
रावण शिव भगवानका कठोर तपस्वी र भक्त थिए । शास्त्रमा बताइएको कथानुसार रावणले शिवजीलाई कैलाशबाट श्रीलंकामा लैजान चाहन्थे तर शिवजी राजी थिएनन् । रावणले शिवजी बसी ध्यान गरिरहेको पर्वतलाई नै उठाउने प्रयास गरे । यसैबीच शिवजीले आफ्नो एक खुट्टा कैलाश पर्वतमा राखीदिए, जसले गर्दा रावणको हात पर्वतको फेदमा च्यापिन गयो । पर्वतको फेदमा हात च्यापिएपछी दुखाइका कारण रावण जोरले चिच्याए तर शिवजीको ताकतलाई देखेर उनले त्यसै समयमा शिव ताण्डव नृत्यको शुरुवात गर्न थाले । रावणको यस्तो कार्य देखेर शिवजीलाई धेरै अनौठो लाग्यो किनकि यस्तो दुखाइ हुँदासम्म पनि यसले शिव ताण्डव गरीरहेको छ, यो सामान्य पुरुष होइन भन्दै उनको नाम रावण राखी दिए । जसको अर्थ हुन्छ- निडरताका साथ ठूलो आवाजले गर्जना गर्ने !
रावण लेखकपनी हुन् ?
रावणले आफ्नो कार्यकालमा धेरै ग्रन्थहरु लेखेकाछन् तर त्यसमध्ये दुइवटा महत्वपुर्ण ग्रन्थहरुमा रावण संहिता र लाल किताव पर्ने गर्दछन् । जुन किताब आजको समयमा पनि महत्वपुर्ण र बहुपयोगी मानिन्छन् । त्यस्तै किसिमले आजको श्रीलंका, बंगलादेश, थाइल्याण्ड र भारत लगायतका देशहरुमा रावणको पुजा समेत गरीन्छ ।
विजया दसमीको वास्तविकता ?
विजयादशमी आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिमा मनाइन्छ, जसलाई दशहरा पनि भनिन्छ । यस वर्ष, दशहरा आश्विन १६ गते विहिबार शुक्लपक्षका दिनमा परेको छ । यस दिन भगवान रामले अधर्ममाथि धर्म स्थापित गर्दै रावणको वध गर्नुभएको विश्वास गरिन्छ। त्यसैले, यो दिनलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मानिन्छ। त्यसैले, दशहराको विशेष अवसरमा रावण, मेघनाद र कुम्भकरणको पुतला जलाइन्छ। धार्मिक ग्रन्थहरूका अनुसार, रावण शास्त्रका विद्वान थिए, र उनका १० टाउकोले उनको शक्तिको प्रतिनिधित्व गर्थे । स्मरण रहोस वैदिक हिन्दु धर्मका मतहरुमा आश्विन शुक्लपक्षमा पर्ने यो दशहरा दुर्गा भगवतीले मैषासुर राक्षसको बध गरेका कारण त्यसैको उपलक्ष्यमा नवरात्रीको पुजा सहित अन्तिम दिन वजया दसमी मनाइन्छ । भनिएको पाईन्छ कि रामले रावणमाथी विजय गरेको चैत्र शुक्लपक्षमा पर्ने दसहरामा मनाइन्छ । कालान्तरमा केही वैदिक हिन्दु धर्मका शक्ति सम्प्रदायका कतिथ ठेकेदार हौं भन्नेहरुले वैष्णव सम्प्रदायका अहिंसात्मक धार्मिक समुदायलाई राम र रावणको कथालाई आश्विन शुक्लपक्षसंग जोडेर जबरन रुपमा यसैबेला मान्न र मनाउन लगाइएको वताइन्छ । यसै कारण पनि यो आस्थाको केन्द्र विन्दुमा विकृतीले दिनप्रतिदिन जडा बलियो रुपले गाडदै गइरहेको पाइन्छ ।
रावणको दश टाउहरुको सम्बन्ध ?
१. काम :- धार्मिक मान्यता अनुसार, रावणको पहिलो टाउकोले उसको अनियन्त्रित इच्छाहरूको प्रतिनिधित्व गर्दछ, जुन उसको पराजयको कारण मानिन्छ ।
२. क्रोध :- रावणको दोस्रो टाउकोले क्रोध अर्थात रिसको प्रतिनिधित्व गर्छ भन्ने विश्वास गरिन्छ । उसको रिस यति तीव्र थियो कि उसले सोचविचार नगरी काम गर्दथे र क्रोधले भरिएर उनले सबै सीमा पार गर्दथे ।
३. लोभ:- रावणको तेस्रो टाउको लोभको प्रतीक हो भन्ने विश्वास गरिन्छ। उनले संसारको सबै चीजको लोभ गर्दथे र त्यो सबै प्राप्त गर्न र आफ्नो अधिकार जमाउन चाहन्थे ।
४. मोह :- रावणको चौथो टाउकोलाई आसक्तिको रुपमा मानिन्छ। उनी आफ्नो शक्ति र धनमा यति मोहित हुन्थे कि उनले सही र गलत छुट्याउनै सक्दैनथे ।
५. अहंकार :- रावणको पाँचौं टाउकोले अहंकारलाई प्रतिनिधित्व गर्दछ । जुन उनको सबैभन्दा ठूलो शत्रु मानिन्छ ।
६. मद :- रावणको छैटौं टाउकोले घमण्डको प्रतिनिधित्व गर्छ भन्ने विश्वास गरिन्छ, अर्थात्, उनी आफ्नो धनसम्पत्तीमा अत्यन्तै घमण्ड गर्दथे । जुन उनको हारको कारण पनि मानिन्छ ।
७. ईर्ष्या :- पौराणिक कथा अनुसार, रावणको सातौं टाउकोले ईर्ष्याको प्रतिनिधित्व गर्दछ । भनिन्छ कि रावण अरूको सफलता र भलाइ देखेर ईर्ष्यालु भइरहन्थे भने उसलाई कमजोर नपारुञ्जेल सान्त बस्दैनथे ।
८. चिन्ता :- रावणको आठौं टाउको चिन्ताको प्रतीक हो, जसका कारण उसको मन सधै अशान्त नै रह्यो । यो गरौं त्यो गरौं अझै बढी गरौं भन्ने चिन्ताले नै जीवन समाप्त हुनगयो ।
९. द्वेष-घृणा :- रावणको नवौं टाउकोले द्वेष अर्थात घृणालाई प्रतिनिधित्व गर्नेगर्दछ । जसले उसको मनमा बदलाको भावना भरिदिएको थियो ।
१०. अज्ञानता :- रावणको दशौं र अन्तिम टाउको अज्ञानताको प्रतीक मानिन्छ । जसले उसलाई धार्मिकता र सत्यको मार्गबाट विचलित गरायो र विनाशतिर डोर्यायो । त्यसैले रावण संसारकै विज्ञता सहितका ज्ञानी पुरष भएर पनि आफ्नो विज्ञतालाई सहि ठाउँमा पक्षपण गर्न नसक्दा उनलाई अज्ञानी नै भनियो ।
अन्तमा भन्नु पर्दा कसैलेपनी आफ्नो विद्वतामा म धेरै पढेको दक्ष सक्षम छु भन्दै काम, क्रोध, लोभ, मोह, अहंकार, मद, ईर्ष्या, चिन्ता, द्वेष र अज्ञानतालाई पाल्नु हुदैन । विद्वत्ताका धनीले जहिलेपनी सामान्य रुपमा आधार प्रमाण सहित प्रस्तुती हुने वानीको अनुसरण गर्नु पर्दछ । समाजमा जहिलेपनी अग्रपंतीमा रहेर समाजलाई समय अनुकुल रुपान्तरणको बाटोमा दिशा निर्देस गर्दै समाजलाई निसंकोच चलायमान बनाई राख्न कृयाशिल हुनुपर्दछ । जानेबुझेको कुरालाई आवश्यक परेकाबेला प्रष्टफोटन गर्न सक्नु पर्दछ । नजाने नबुझेको कुरालाई म विद्वान हु सक्षम छु म संग डिग्री छ मैले यति उति यहाँबाट उहाँबाट यस्तो उपाधी पाएको छु भन्नु भन्दा आफुभन्दा सामान्य व्यक्तिहरुसंग पनि जिवनका सिखहरुलाई बुझ्नु र जान्नु पर्दछ । नत्र भने कालान्तरमा तेत्रायुगका महान ज्ञानी रावणलाई अज्ञानीको संज्ञाले परिचित भएजस्तै हुनुपर्ने हुनजान्छ । जय माण्डव्य !
सवाल होइन, स्वअध्यन गरौं !