अहिलेको समयमा हामी हर्षउल्लासका साथमा बडादशैंलाई मनाई रहेका छौं । यो समयमा बाल होस या बृद्ध सबैको मनमा उल्लाहसताको सिमा न हुदैन् । सबैको मनमा खुसियाली, भाईचारा, बन्धुत्व, अपनत्व र अभिभावक्तवको सवालमा कुनै सम्झौता हुदैन् । सबैको मनमा समानता र सह–अस्तित्व नै झल्कि रहेको हुन्छ । घर बाहिर गएको स–परिवार घर भित्रीएको हुन्छ । मानौ कि यो समय कल्पनाको स्वर्गानुभुतीमा नै चलिरहेको छ । यसै सन्दर्भमा आज हामी बडा दशैं र यसको वास्तविकताका सवालमा संक्षिप्त रुपमा केही चर्चा विमर्श गर्ने छौं ।
बडा दशैं अर्थात दशहरा वा विजयादशमी मुख्यतया यो पर्व असत्यमाथि सत्यको विजय मनाउने पर्व हो । जुन दुई प्रमुख घटनाहरूसँग सम्बन्धित रहेको पाईन्छ । प्रथम, देवी दुर्गाले महिषासुरको वध गरेको र दोस्रो, भगवान रामले रावणमाथि विजय हासिल गरेको । शारदीय नवरात्रको समापन पछि मनाइने यो दिनमा महिषासुर, रावण, कुम्भकर्ण र मेघनादको पुतला जलाएर अधर्म र असत्यको अन्त्य गरेर मनाइन्छ ।
के हो त दशैं ?
देवी भगवती दुर्गाले मैहिषासुर दानवको वध र रामद्वारा रावणको वधको सम्झनामा मनाइने दशैं (दसहरा–विजयादशमी र आयुध पूजा) एक महत्वपुर्ण वैद्धिक हिन्दू पर्व हो । यो आश्विन शुक्ल पक्षको दशमीका दिन मनाइन्छ । भगवान रामले यस दिन रावणको वध गरेका थिए भन्ने गरिन्छ तर वाल्मीकि रामायण र पद्म पुराणमा उल्लेख गरिए अनुसार रावणको वध चतुर्दशीमा भएको थियो, दशमीमा होइन, त्यो पनि चैत्र महिनाको चतुर्दशीमा । यसको अर्थ दशमीमा मनाइने “विजयादशमी” पर्वको रावणको वधसँग कुनै सम्बन्ध छैन । विशुद्ध रुपमा यो पर्व सान्ति र समृद्धिको प्रतिकका रुपमा मनाइन्छ ।
यो पर्व मान–सम्मान, आदर–सत्कार र असत्यको बिनास र सत्यको उजगारका रुपमा मनाईन्छ । वैद्धिक संस्कार भित्रका केही ढोगी र विद्रोहीहरुले आफु अनुकुल चैत्र शुक्पक्षमा गरिने कार्यलाई आश्विन शुक्लपक्षमा मनाईने यश पर्व भित्र ल्याएर कुरितीको जडा बलियो बनाएको पाइन्छ ।
विशेतह यो पर्व देवी भगवती माता दुर्गाले नौ रात दिन लागेर दानव महिषासुरलाई पराजित गर्दै असत्य माथी सत्यको झण्डा फरफराईन्, त्यसको भोलिपल्ट दसौं दिनमा यसलाई असत्यमाथि सत्यको विजयको रूपमा मनाइन थालीयो भन्ने जिकिरहरु वैद्धिक हिन्दु धर्म ग्रन्धहरु स्वअध्यन गर्न पाईन्छ ।
त्यसैले, यो दशमीलाई विजयादशमी (दशहरा–दशहरा–दशौं दिन) भनेर चिनिन्छ । दशहरा वर्षको तीन चाडहरू मध्ये एकमा मनाइन्छ । यो सबैभन्दा शुभ तिथिहरू मध्ये एक हो, अन्य दुई चैत्र शुक्ल प्रतिपदा र कार्तिक शुक्ल प्रतिपदामा पर्ने गर्दछन् ।
भनिएको पाईन्छ कि यस दिनमा मानिसहरूले हतियारहरूको पूजा गर्छन्, नयाँ कामको सुरुवात गर्छन् । समाजमा मान्यता रहिआएको छ कि यस दिनबाट सुरुवात गरिएको कुनै पनि काम सफल हुनेगर्दछ । प्राचीन समयमा, राजाहरूले यस दिनमा विजयको लागि प्रार्थना गर्थे र युद्ध अभियानमा लागी प्रस्थान गर्दथे ।
यस दिन विभिन्न ठाउँहरुमा रामलीलाको आयोजना गरिन्छन् । उक्त मेलामा रावण, मेघनाद र कुम्भकरणका विशाल पुतलाहरू बनाएर जलाइने परम्परा रहिआएको पाइन्छ । तर अहिलेको समयमा भने छिमेकि मुलुकमा रामलिला मात्र किन रावण लिलापनी मनाईनु पर्दछ भनेर आवाज उठिरहेकाछन् । दक्षिण भारत तिर रावण लिलाको रुपमा रावणको पुजा गर्दै बडोधुमधामसंग पर्व मनाउने चलनपनी रहेको पाइन्छ । किनकि रावण पनि एक ब्राह्मण ऋषीको छोरा र ठुलै बिद्वान थिए भन्ने रामायणबाट नै पुष्टि हुने गर्दछ । रावण यति मात्र होइन उनी ज्योतिष विज्ञान र वास्तु विज्ञानका संस्थापक नै हुन भन्ने गरिन्छ । रावणद्वारा लिखित रावण संहिताको अध्यन गर्ने हो भने उनी कुनै दुष्ट र दानव थिएनन् र उनले आफ्नो राज्य जोगाउन हठि स्वभावको प्रयोग गरेका थिए भन्ने कुरालाई स्वअध्यन गर्न पाउछौं ।
दशहेरा होस् वा विजयादशमी भगवान रामको विजयको रूपमा मनाइन्छ वा दुर्गा पूजाको रूपमा ? तर जेहोस दुवै रूपमा यो शक्ति पूजाको पर्व नै हो, शस्त्र पूजाको तिथि हो । यो आनन्द, खुशी र विजयको पर्व हो । वैद्धिक हिन्दु संस्कृतिले बहादुरीको पूजा गर्छ, यो वीरताको प्रशंसक हो । व्यक्ति र समाजको रगतमा बहादुरी प्रकट होस् भनेर दशहरा मनाइन्छ ।
दशैंमा बली प्रथा ?
विशेषतहः दशहरा पर्वले काम, क्रोध, लोभ, मोह, अभिमान, ईष्र्या, अहंकार, आलस्य, हिंसा र चोरी यि दश प्रकारका पापहरूको त्याग गर्नमा प्रेरित गर्दछ । खासमा यो पर्व बलीको पर्वको रुपमा समेत मनाइन्छ ? तर बली भन्नाले यहाँ अहिलेको अवस्थामा जीव हत्यालाई प्रमुख रुपमा लिइएको पाइन्छ । तर यहाँ बलीको अर्थ त्याग्नु हो, किनभने यस अवसरमा आफुबाट भएका काम, क्रोध, लोभ, मोह, अभिमान, ईष्र्या, अहंकार, आलस्य, हिंसा र चोरी सहित यि दश प्रकारका कुकर्महरूको त्याग गर्नु हो । समय अनुकुल समाज रुपान्तर गर्न तल्लिन हुनलाई वाचावन्धनमा बाधिनु नै बली दिनु हो ।
के हो नवरात्रि ?
नौ दिनसम्म चल्ने हिन्दू पर्व जसमा नौ दिनसम्म देवीको पूजा गरिन्छ । नवरात्र एक प्रमुख हिन्दू पर्व हो । नवरात्र एक संस्कृत शब्द हो जसको अर्थ “नौ रातको समय“ हो । यी नौ रात र दश दिनहरूमा, शक्ति स्वरुपा देवीको पूजा गरिन्छ ।
नवरात्र वर्षमा चार पटक माघ, चैत्र, आषाढ र आश्विन महिनामा पर्दछ । यो प्रतिपदादेखि नवमीसम्म चैत्र, माघ, आषाढ र आश्विन महिनाको चन्द्र तिथीअनुसार वैद्धिक हिन्दू परम्परामा मनाइने गरिन्छ । यो पर्व पहिलो चैत्र महिनामा पर्ने वसन्तिक वा वसन्तीय नवरात्र हो भने दोस्रो आश्विन महिनाको शुक्ल पक्षमा पर्ने शारदीय नवरात्र हो । शारदीय नवरात्र दशहरामा महादुर्गा माताको पुजापाठ पछी मूर्तिको विसर्जनसँगै समाप्त हुनेगर्दछ ।
वैद्धिक हिन्दू परम्परा अनुसार, चैत्र नवरात्र चैत्र महिनामा पहिलो पटक पर्छ भने दोस्रो आश्विमा पर्दछ । यी दुबै पर्वहरु जुन नौ दिनसम्म चल्ने गर्दछन भने नवरात्रका नौ दिनहरू चैत्र र आश्विनमा शुक्ल प्रतिपदा, शुक्ल द्वितीया, शुक्ल तृतीया, शुक्ल चतुर्थी, शुक्ल पंचमी, शुक्ल षष्ठी, शुक्ल सप्तमी, शुक्ल अष्टमी र शुक्ल नवमी पर्दछन् ।
दशैंसंग सम्वन्धित केही मुख्य कुराहरु ?
१) राम र रावणको कथाः पौराणिक कथा अनुसार, भगवान रामले रावणको वध गरी सीतालाई उनको बन्धनबाट मुक्त गरेका थिए । यो घटना आश्विन महिनाको दशमी तिथिमा भएको थियो, त्यसैले यसलाई विजयादशमीको रुपमा पनि गरिन्छ । तर रामायण र पद्मपुराणका अनुसार रामले चैत्र शुक्ल नवमिका दिन रावणको बध गरेका थिए र दसमीका दिन विजय दिवस मनाइएको भन्ने पाइन्छ ।
२) माँ दुर्गा र महिषासुरको कथाः अर्को मान्यता अनुसार, नौ दिनसम्म चलेको युद्धपछि यसै दशमी तिथिमा माँ दुर्गाले महिषासुर नामक राक्षसको वध गरी विजय प्राप्त गरेकी थिइन् ।
३) अधर्मर असत्यमाथि धर्म र सत्यको विजयः यी दुई कथाहरू मार्फत, दशैं खराबमाथि असलको, अधर्ममाथि धार्मिकताको र अन्यायमाथि न्यायको विजयको प्रतीक हो भन्ने बुझिन्छ ।
४) विजयादशमीको रूपमा मनाइने उत्सवः दशैंलाई विजयादशमी पनि भनिन्छ किनभने यो विजयको पर्व हो । यस दिन शुभ समयमा कुनै पनि नयाँ काम वा यात्रा सुरु गर्नु शुभ मानिन्छ ।
५) रावण दहनः यस पर्वमा विभिन्न स्थानमा दसहरा मेलाको रुपमा देवी भगवतीले महिषासुरको बध र रामले रावणको बध गरेका कलाकृती मार्फत मनोरञ्जन गर्दै गराउदै महिषासुर, रक्तविज, रावण, कुम्भकर्ण र मेघनादका पुतलाहरू अधर्म र असत्यको अन्त्यको प्रतीकस्वरूप जलाइन्छन् ।
६) अन्य परम्पराहरूः केही क्षेत्रहरूमा यस दिन शमी रूखको पनि पूजा गरिन्छ । किनकि भगवान रामले लंकामा आक्रमण गर्नु अघि शमी रूखलाई नमन गरेका थिए र यसै रूखबाट आफ्नो हतियार लिएर युद्ध जितेका थिए भन्ने विश्वास गरिन्छ ।
दशैंका अन्य पक्ष ?
दशैंको सांस्कृतिक पक्ष पनि रहेको छ । हाम्रो देश कृषिप्रधान देश हो । यतिबेला किसानहरू आफ्नो खेतबारीमा हुन्छन् । यसबेला कुनै व्यक्तिले अन्नबाली उब्जाउँछ र अन्नबालीलाई आफ्नो घरमा भित्र्याउँछ तब उसको आनन्द र उत्साहको कुनै सीमा हुँदैन । यस खुशीको अवसरमा, उक्त किसानले भगवानको आशीर्वादलाई स्वीकार गर्छ र कृतज्ञता व्यक्त गर्न उ भगवानको पूजा आराधना गर्दछ ।
यो पर्व नेपाल –भारत लगायतका विभिन्न देश र क्षेत्रहरूमा फरक–फरक तरिकाले र तवरले मनाइने गरिन्छ । नेपालमा यो पर्वमा अन्नबाली विशेषगरी धानका बालाहरुलाई घरको दैलोमा बडो आकर्षक रुपमा टाँस्ने गरिन्छ । हामी भारतको महाराष्ट्र राज्यमा केही समय रहंदा उक्त ठाउँमा यो पर्वलाई ’सिलंगण’ भनिने सामाजिक पर्वको रूपमा मनाउने कार्य गरेको देखेका थियौं । उक्त ठाउँमा यो पर्व चलिरहेको समयमा साँझपखको बेला सबै गाउँलेहरू सुन्दर र नयाँ लुगा लगाएर गाउँको सिमाना पार गर्छन र त्यहाँ गएर सुन लुट्ने भन्दै उक्त ठाउँमा रहेको शमी रूखको पातलाई सुनको रुपमा लुट्छन् र आफ्नो गाउँ फर्कन्छन् । त्यसपछि शमी बृक्षको पातरुपी सुनलाई गाउँभरी नै एकअर्कासँग साटासाट गर्दै खुसियाली सहित यो पर्वलाई मनाउने गर्दछन् । त्यहाँका स्थानिहरुको भनाई अनुसार यो पर्वमा पहिलेको समयमा सुनखानीबाट सुन ल्याएर गाउँका गरिव असाह्यहरुलाई दामासाहीका रुपमा बाड्ने गरिन्थ्यो र यसो गर्नाले समाजमा त्यो वर्ष कोही गरिव, असाह्य हुनु पर्दैन भन्ने थियो । तर अहिलेको समयमा सुन नपाउने भएकाले चाल बर्षमा शनि देव र भगवान शिवले रक्षा गरून् भन्दै शमी बृक्षको पातहरु ल्याएर गाउँलेहरु सबैमा बाड्ने चलन रहिआएको छ । यसरी यो पर्वलाई अनेकानेक तरिकाले मानाउने गरिन्छ ।
२०८२ मा वडा दशैंको शुभसाइत ?
नेपाल सरकार नेपाल पञ्चाङ्ग विकास समितीले यश बर्ष बडादशैं सम्वन्धी सार्वजनिक गरेका शुभ साइतहरु यसप्रकार रहेकाछन ।
विक्रम संवत् २०८२ सालको बडादशैंको शुभोपलक्ष्यमा गरिने विभिन्न कृत्यहरूको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा निर्णीत शुभसाइतहरू सर्वसाधारण सबैकालागी निम्नानुसार रहेको व्यहोरा प्रस्तुत गरिएको छ ।
१) वि.सं. २०८२ साल असोज ६ गते सोमवार नवरात्रारम्भ, घटस्थापना बिहान ९.१३ बजे
२) वि.सं. २०८२ साल असोज ७ गते मङ्गलवार झण्डा फेर्ने, बिहान ९.५३ बजे (पूर्व मोहडा)
३) वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचली भैरव यात्रा
४) वि.सं. २०८२ साल असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७.१७ बजे, स्थिरासन बिहान ९.२३ बजे
५) वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि
६) वि.सं. २०८२ साल असोज १५ गते बुधवार महानवमी
७) वि.सं. २०८२ साल असोज १६ गते बिहीवार विजया दशमी, देवी विसर्जन, बिहान ९.२३ बजे, टीका बिहान ११.५३ बजे (पूर्व मोहडा), (टीका लगाइमाग्ने पूर्व फर्किने), श्री तुलजाभवानी यात्रा,दिवा १२.१९ बजे, स्थिरासन दिवा १.१७ बजे, खड्गयात्रा
८) वि.सं. २०८२ साल असोज २० गते सोमवार अखिलबलिपूर्ति, कोजाग्रतव्रत, पूर्णिमाव्रत ।
नोटः– सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता पर्दैन ।
समग्रमा भन्नु पर्दा दशैं एक महत्वपूर्ण वैद्धिक हिन्दु पर्व हो, जसले अधर्म र असत्यको अन्त्य र धार्मिक तथा सत्यताका साथै नैतिक मूल्यमान्यताको विजयको उत्सव र आफुबाट भएका काम, क्रोध, लोभ, मोह, अभिमान, इर्ष्या, अहंकार, आलस्य, हिंसा र चोरी सहित यि दश प्रकारका कुकर्महरूको त्याग गर्दै मनाईने पर्व हो । यो पर्व खुसियाली, भाईचारा, बन्धुत्व, अपनत्व र अभिभावक्तवको सवालमा कुनै सम्झौता नगरि सबैको मनमा समानता र सह–अस्तित्व नै झल्काउने पर्व हो । जय माण्डव्य !