बि.स. २०३७ को एक आम सभामा बिपी कोईरालाले भावी प्रधान मंत्रीका बारेमा बोल्नु हुदै सबैलाई तरंगित पार्नु भयो । उहाँले भन्नु भयो, “मुलुकमा अहिले प्रजातन्त्र छैन । नेपाली काँग्रेसको आन्दोलनबाट प्रजातन्त्र आउँदा हाम्रा साथी परशुनारायण चौधरी प्रधानमंत्री बन्नु हुनेछ ।” सभामा उपस्थित गणेशमान जी र किसुन जी थोरै पनि असहज देखिईनु भएन ।
भोली पल्ट बिहानै एकथरी कुपण्डेलमा किसुन जी बस्नु हुने घरमा पुगेर बिपीको त्यस भनाईका प्रति असन्तोष जनाए । भर्खरै गीताका एक अध्याय पढीओरी बाहिरिनु भएका किसुन जीले बडो ध्यानपुर्वक उनिहरूका कुरा सुन्नु भयो र मन्द आवाजका साथ रेडियोबाट आई रहेको आवाजलाई कम गराउदै तिनीहरू तर्फ उन्मुख हुनु भयो । हाँस्दै भन्नु भयो, “तपाईहरूलाई के थाहा बिपीले मेरो लागि नियतिको कुन चयन सोच्नु भएको छ ?” सामाजिक संजाल तथा कयौं ‘स्कूपबाल’ दैनिकहरूको जमाना थिएन । कतिपयको मन मनै कुरा उठ्यो होला, तर यस कुराको कुनै अतिरंजित बहस देखिएन।
बिपीले त्यसो बोल्नु भएको बखत प्रतिबन्धित नेपाली काँग्रेसमा प्रशु जीको त्यो हैसियत थियो वा थिएन, त्यता न जाउँ । जबकि, त्यसको २–३ बर्ष पहिले नै बिपीले अमेरिकाबाट नेपाल फर्किने क्रममा भारतको पटनामा आयोजित काँग्रेसको सम्मेलनमा आफु नेपाल पुगेपछि जेल पर्ने निश्चित छ, गणेशमान जी पनि जेल पर्नु होला । त्यस बेला साथीहरूले किसुन जीबाट निर्देशन पाई रहनु हुनेछ भन्नु हुदै किसुन जीलाई पार्टीको कार्यवाहक सभापति तोक्नु भयो ।
यसको २–४ दिन पहिले नै सूवर्ण समशेर जीले कलकत्तामा बिपीलाई काँग्रेसको सभापतित्व फिर्ता गर्नु भएको थियो । बिपीहरू २०१७ सालमा जेल पर्नु भएपछि २०१८ सालमा पटनामा भएको नेपाली काँग्रेसको सम्मेलनले सूवर्ण समशेर जीलाई बिपीको अनुपस्थितिमा पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी क्यान्सरले थलिनु भएका सूवर्ण जीले त्यस दिन बिपीलाई फिर्ता गर्नु भएको थियो ।
किसुन जी २०१६ को संसदमा सभामुख हुनुहुन्थ्यो । पहिलो संसदीय चुनावमा बिपीले गिरिजा बाबुलाई मोरंगबाट संसदका लागि पार्टीको टिकट दिनु भएन । आफ्नो सहोदर भाईलाई टिकट दिएपछि अपगाल आइलाग्छ भन्ने हेतुले बिपीले भाई गीरीजा बाबुलाई टिकट दिनु भएन । किसुन जी र गिरिजा बाबु समान उमेर कै हुनुहुन्थ्यो । उमेरमा किसुन जी गिरिजा बाबुको भन्दा जम्मा जमी २ महिना ७ दिनको जेठो हुनुहुन्थ्यो, यसलाई जेठो पनि भन्न नसकिने । २००७ सालको क्रान्तिमा किसुन जी उदयपुरगढी कब्जा गर्ने नेता र गिरिजा बाबु बिराटनगर कब्जा गर्ने नेतामा पनुहुन्थ्यो । तर, बिपीले किसुन जीलाई पार्टीको कार्यवाहक सभापति तोक्नु भयो, यसको एक साता न बित्दै गिरिजा बाबुलाई किसुन जीको मातहत पार्टीको महामंत्री तोक्नु भयो ।
त्यो काँग्रेसको समय थियो । त्यती खेर महामंत्री भनेपछि आजका महामन्त्री गगन थापा र त्यतिबेलाका महामंत्री गिरिजा एकै स्तरको हुदैथे । न त काँग्रेसको कार्यवाहक सभापति सूवर्ण जीको स्तरमा अहीले नव जिम्मेवारी पाएका पूर्णबहादुर खडका र उपसभापति धनराज गुरूंगको स्तर एउटै हुन्थ्यो । त्यो काँग्रेसको जमाना थियो, अहिले काँग्रेसमा रामराज्यको जमाना हो । त्यती खेर किसुन जी भन्नु हुन्थ्यो–“तपाईहरूलाई के थाहा बिपीले मेरो लागि नियतिको कुन चयन सोच्नु भएको छ ?” यतिखेर बर्षौं पहिले रोलक्रमको निर्धारण गरिन्थ्यो, काँग्रेसमा ।
जे होस्, लेखनमा मेरा भावनाहरू बहकिनु भन्दा पहिले नै यति कुरा इमान्दारिताका साथ भन्न चाहन्छु कि, पार्टीको सभापतित्व कार्यवाहक सभापति मेरा अनन्य मित्र पूर्णबहादुर खडकालाई सुम्पेर मलाई पनि बडो भावुक बनाउनु भयो । यो सहज काम होईन, बिपीको जमाना होईन । पूर्णबहादुरलाई किन ? अर्जुननरसिंह वा शेखर कोईरालालाई किन नाई ? यस्ता कुराहरू उठलान् ! तिनका काँग्रेसमा । यो तिनको कुरो हो, तर यति त सत्य हो कि आफ्ना बिश्वासिलो र कुरा मान्ने मानिसको रूपमा कार्यवाहकको दायित्व पूर्णबहादुरमा गयो, यो किमार्थ खराब होईन । पदीय रूपमा अहिलेका अर्का उपसभापतिको मा र ‘ग्रुम गरिंदै लगिएकी’ आरजु जी को मा जाने रोलबाट काँग्रेस अलग हटेको छ ।
समकालिन अन्य पार्टीका अध्यक्ष वा सभापतिको तुलनामा शेरबहादुर जीले हिउँको ढिक्का फोड्नु भएकै हो ।
धन्यवाद शेरबहादुर दाई, कुनै बेला तपाईको मंत्री पनि थिए......धेरै कुराहरू यति खेर याद आई रहेको छ ।