कञ्चनपुर जिल्लामा कान्छि आमाको हत्या गर्ने भतिजामाथी प्रहरीले अदालतबाट ७ दिनको म्याद थपगरी अनुसञ्धान गरीरहेको जनाएको छ । ७५ वर्षीय कान्छि आमाको हत्याका आरोपी ५५ वर्षीय हरिप्रसाद श्रेष्ठमाथि सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।
कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं ४ स्थित माननिय चोकमा छुट्टै घरमा छोरीसँगै बस्दै आएकी ७५ वर्षीया कान्छी आमा बिन्द्राको हत्याको आरोपी हरिप्रसाद माथि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
गत मङ्गलबार भतिजाले हँसिया प्रहार गर्दा कान्छि आमा बिन्द्राको घटनास्थलमै ज्यान गएको थियो भने, उनकी ५० वर्षीया छोरी भगवती देवी माझी गम्भिर घाइते भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीका अनुसार, कान्छी आमाको हत्या गरेर श्रेष्ठ फरार भएका थिए ।
मृतकका नातिनी सारिका कुमारी मालीको जाहेरीका आधारमा दोस्रो दिन राति नेपाल भारत सीमा स्थित दोधारा चादनी नगरपालिका वडा नं ८ सुन्दरनगर टोलबाट भाग्दै गरेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खत्रीले बताएकाछन् । पक्राउ गरिएका श्रेष्ठमाथि जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी खत्रीले जानकारी दिएकाछन् ।
खत्रीका अनुसार घटनास्थलबाट धारिलो हतियार हँसिया बरामद गरिएको छ, भने घटनाको विषयमा प्रत्यक्षदर्शीहरू सँग सोधपुछ तथा श्रेष्ठको बयान लिने कार्य भइरहेको छ । मृतकको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।
यसै गरी, हँसिया प्रहारबाट गम्भीर घाइते भएकी ५० वर्षीया माझीको भारतको भोजिपुरामा थप उपचार भइरहेको छ । श्रेष्ठ हत्या प्रकरणको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनीलाई अनुसन्धान अधिकृत तोकिएको प्रहरी उपरीक्षक खत्रीले वताएकाछन् । (अकम्प दैनिकबाट)