भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा साहित्यिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आज नेपालगञ्जमा गरीएको उक्त कार्यक्रममा लघुकथा समाज नेपाल र स्रस्टा समाज नेपालका अध्यक्ष, गोरखापत्र संस्थानका पूर्व प्रधानसम्पादक तथा मधुपर्क साहित्यिक पत्रिकाका पूर्व सम्पादक श्रीओम श्रेष्ठ "रोदन"ज्यू र उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती ज्यूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ ।
नेपाली साहित्यिक क्षेत्रमा लामो समयदेखि सक्रिय भई "अर्थहीन अर्थहरु" र "समयका सम्भावनाहरु" निबन्धसंग्रह, "समुद्र वारि समुद्र पारि" र "नबिर्सने दिनहरु" नियात्रासंग्रह, "ललिता" कथासंग्रह, "आँखीझ्याल" लघुकथासंग्रह जस्ता थुप्रै कृतिहरु प्रकाशित गरी नेपाली साहित्यको श्रीबृद्धि र विकासमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै समाजद्वारा श्रीओम श्रेष्ठ "रोदन"ज्यूलाई सम्मान गरिएको हो ।
त्यसैगरी उपन्यास विधामा लामो समयसम्म कलम चलाई "अनुपम देवता", "अर्को जुनी" र "प्रेम तपस्या" लगायत दर्जन भन्दा बढी उपन्यासहरु प्रकाशित गरी साहित्य जगतमा पुर्याइएको योगदानको उच्च कदर स्वरुप उपन्यासकार शंकर भारतीज्यूलाई समेत सोहि कार्यक्रममा सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा बिशेष रुपमा आमन्त्रित गरिनुभएका भारत महाराष्ट्र नासिकका वरिष्ठ साहित्यकार दम्पती डाक्टर राजेन्द्र खटाटेज्यू र श्रीमती मनिषा खटाटेज्यूलाई बिशेष अभिनन्दन सहित सम्मान गरिएको थियो ।
कार्यक्रम भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राज्ञ सनत रेग्मी ज्यु रहनु भएको थियो ।
त्यसैगरी उक्त कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवाआयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरे, खगेन्द्र गिरी कोपिला, किरण आचार्य, डाक्टर राजेन्द्र खटाटे र श्रीमती मनिषा खटाटे ज्यु रहनु भएको थियो ।
भेरी साहित्य समाजका संस्थापक अध्यक्ष, केन्द्रीयसमितिका वरिष्ठ सल्लाहकार तथा निवर्तमान अध्यक्ष डाक्टर हरिप्रसाद तिमिल्सिनाज्यूको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रम समाजका महासचिव, सुन्दर गुरुङले सन्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अथिती, बिशिष्ठ अतिथि ज्युहरुले साहित्यिक शुभकामना मन्तव्य दिनुभएको थियो ।
साहित्यिक भेटघाटको उक्त कार्यक्रममा सम्मानित तथा अभिनन्दित स्रस्टाहरुले आ-आफ्ना साहित्यिक यात्राका संघर्षमय दिनहरु र सफलता प्राप्तिका क्षणहरुलाई सम्झिंदै उत्प्रेरक भनाईहरु राख्नुभएको थियो ।
Aguwa Online All rights reserved.