शुक्रबार, श्रावन २९, २०८३
/
निरंकारी मिसन र मुक्ति पर्व
२८ श्रावण २०८३
  माण्डव्य हेमन्त
सदा झै यस बर्षपनि सन्त निरंकारी मिसनले अगस्त १५ अर्थात श्रावण ३० गते विश्वभर मुक्ति पर्व दिवश मनाउन गइरहेको छ । निरंकारी मिसनको अन्तराष्ट्रिय मुख्यालय दिल्लीमा यस पर्वलाई बडोधुमधामसंग मनाइदै छ । यता नेपालमा भने केन्द्रिय कार्यालय रहेको काठमाडौंको हातीबन र कैलालीको टीकापुर स्थित निरंकारी भवन लगायतका सबै निरंकारी भवनहरुमा निरंकारी मिसनका अनुयायिहरुले यस पर्वलाई भव्य रुपमा मनाउन गइरहेकाछन् । 
आखीर के हो त यो मुक्ति पर्व ? यसका बारेमा जान्न र बुझ्न त्यतिकै जरुरी छ । आजको युगमा कुनैपनि चिज लहलहै र देखासेखी भन्दापनि त्यसका बारेमा पुर्ण रुपमा बुझेर कार्य गर्दा उपयुक्त हुनजान्छ । यसै सन्दर्भमा आजहामी यहाँ निरंकारी मिसनले प्रत्येक बर्ष धुमधामका साथ विश्वभर मनाउने “मुक्ति पर्व”का बारेमा जान्ने कोशीस गर्नेछौं । मिसनले मनाउने मुक्ति पर्वको बारेमा जान्न र बुझ्नकालागी सबै भन्दा पहिला हामीले मिसनको स्थापना कसरी र किन भयो ? मुक्ति पर्वको सुरुवात किन र कसले ग¥यो भन्ने सवालमा जानकार हुन जरुरी देखीन्छ । आऔं त्यसै सन्दर्भमा यहाँ केही कुरा जान्ने र बुझ्ने गरौं । 
सन्त निरंकारी मिसनको स्थापना
सन्त निरंकारी मिसनको स्थापना २५ मे १९२९ मा हालको पाकिस्तानको पेसावरमा बाबा बुटा सिंह जीद्वारा स्थापना गरिएको थियो । यो एक वैश्विक आध्यात्मिक आन्दोलन हो भने “यो कुनै धर्म या सम्प्रदाय नभई एक आध्यात्मिक विचारधार हो”, अर्थात अहिंसावादी संस्था हो, जसले कुनै नयाँ धर्मको स्थापना गर्दैन, बरु प्रत्येक मनुष्यलाई “निरंकार” (निराकार ईश्वर) को पहिचान गराएर समाजमा सार्वभौमिक बन्धुत्व स्थापित गर्ने सन्देश दिन्छ ।
यस मिसनको इतिहास यसका गुरुहरूको क्रमिक गद्दी (आध्यात्मिक उत्तराधिकार) स्थानान्तरण र उनीहरूद्वारा गरिएका सामाजिक–आध्यात्मिक सुधारहरूसँग जोडिएको पाइन्छ ः
मिसनको स्थापना र प्रारम्भिक चरण (१९२९–१९४३) मा संस्थापकको रुपमा बाबा बुटा सिंह ज्यु महाराज रहनु भयो । बाबा बुटा सिंह ज्युको जन्म हालको पाकिस्तानको क्याम्पबेलपुरमा भएको थियो । उहाँले २५ मे १९२९ मा बाबा अवतार सिंह ज्यु महाराजलाई ब्रह्मज्ञान (ईश्वरको ज्ञान) प्रदान गर्नुभएको थियो । यही ऐतिहासिक दिनदेखि सन्त निरंकारी मिसनको औपचारिक सुरुवात भएको मानिन्छ । उहाँले पेशावर (पाकिस्तान) लाई केन्द्र बनाएर यो सत्यको सन्देश फैलाउन सुरु गर्नुभएको थियो भने भारत र पाकिस्तानको विभाजन हुँदा दिल्ली आगमन भएर मिसनलाई आधिकारीक रुपमा दर्ता गरीएको थियो
मिसनका द्वितीय सतगुरु बाबा अवतार सिंह ज्यु महाराज (१९४३–१९६२) रहनु भयो । सन् १९४३ मा बाबा बुटा सिंह ज्यु ब्रह्मलीन हुनुभएपछि बाबा अवतार सिंह ज्युले गुरुगद्दी सम्हाल्नु भएको पाइन्छ । सन् १९४७ मा भारतको विभाजनको समयमा उहाँ दिल्ली आउनुभयो र प्रशासनिक र संस्थागत कार्यहरूलाई सहज रूपमा सञ्चालन गर्न उहाँले २४ सेप्टेम्बर १९४८ मा दिल्लीमा ‘सन्त निरंकारी मण्डल’ को गठन र दर्ता गराउनुभयो । उहाँले मिसनको पवित्र ग्रन्थ ‘अवतार वाणी’ को रचना समेत गर्नुभयो भने बाबा अवतार सिंह ज्युको नेतृत्वमा सामाजिक सुधार र संस्थागत विस्तार (१९६२–१९८०) का कार्यहरु धेरै भएको पाइन्छ ।
मिसनका तृतीय सतगुरुको रुपमा बाबा गुरबचन सिंह ज्यु महाराज देखीनु भयो । बाबा अवतार सिंह ज्युले जीवितै रहँदा सन् १९६२ मा गुरुगद्दीलाई आफ्ना सुपुत्र बाबा गुरबचन सिंह ज्युलाई सुम्पिनुभयो र आफुले सामान्य सन्त सरहको जिवन व्यतित गर्नुभएको पाइन्छ । गुरुवचनले गुरु गद्धीको जिम्मेवारी समाली सकेपछी मिसनको उदेश्यले तीव्रता र विस्तारले अग्रता पाएको वताइन्छ । बाबा गुरबचन सिंहले देश–विदेशमा मिसनको प्रचार यात्रा गर्नुभयो, दाइजोप्रथा जस्ता कुरीतिहरू विरुद्ध आवाज उठाउनुभयो र सादगीपूर्ण सामूहिक विवाहहरूको सुरुवात गर्नुभयो । यही चरणमा अनुशासनका लागि ‘निरंकारी सेवा दल’ लाई मजबुत बनाइयो । २४ अप्रिल १९८० मा केही कट्टरपन्थीहरूद्वारा उहाँको हत्या (बलिदान) गरिएको थियो ।
मिसनका चतुर्थ सतगुरुको रुपमा बाबा हरदेव सिंह ज्यु महाराजले गुरुगद्धीलाई समाल्नु भयो । बाबा गुरबचन सिंह ज्युको बलिदान लगत्तै उहाँका सुपुत्र बाबा हरदेव सिंह ज्युले मात्र २६ वर्षको उमेरमा मिसनको बागडोर सम्हाल्नुभएको थियो । बाबा हरदेव सिंह ज्युले घृणाको जवाफ प्रेमले दिनुभयो र नारा समेत दिनुभयो, “दिवार रहित संसार” । उहाँको ३६ वर्षको कार्यकालमा मिसन संसारको कुना–कुनासम्म पुग्यो । उहाँले रक्तदान शिविर, सरसफाइ अभियान र वातावरण संरक्षण (रुख रोप्ने कार्य) जस्ता सामाजिक सेवाहरूलाई मिसनको मुख्य हिस्सा बनाउनुभयो । मे २०१६ मा क्यानाडामा भएको सडक दुर्घटनामा परी उहाँले मानव जिवनबाट महाप्रस्थान गर्दै निराकारमा ब्रह्मलीन हुनुभयो ।
पञ्चम सतगुरुको रुपमा माता सविंदर हरदेव ज्यु महाराजले (२०१६–२०१८) गुरुगद्धीको जिम्मेवारीलाई समाल्नु भयो । बाबा हरदेव सिंह ज्युको महाप्रस्थान पछी उहाँकी धर्मपत्नि अर्थात जीवनसंगिनी माता सविंदर हरदेव सिंह ज्युले आध्यात्मिक प्रमुखको रूपमा मिसनका अनुयायिहरूलाई मार्गदर्शन गर्नुभयो । उहाँले आफ्नो अस्वस्थताका बाबजुद पनि पूर्ण समर्पणका साथ मिसनका सेवा कार्यहरूलाई अगाडि बढाउनुभयो ।
छैठौं अर्थात वर्तमान समयमा सतगुरु माता सुदीक्षा ज्यु महाराज (२०१८ देखि हालसम्म) ले निरंकारी मिसनको उदेश्य मार्फत विश्वभर छरीएर रहेका निरंकारी अनुयायिहरुलाई मार्गदर्शन गरीरहनु भएको छ । माता सविंदर ज्युले आफ्नो ब्रह्मलीन हुनुअघि जुलाई २०१८ मा आफ्नी सुपुत्री माता सुदीक्षा ज्युलाई मिसनको छैटौं आध्यात्मिक प्रमुख (सतगुरु) को रुपमा घोषणा गर्नुभएको थियो ।
सोही अनुरुप आज माता सुदीक्षा ज्युको नेतृत्वमा मिसनले आधुनिक प्रविधि र युवाहरूको ऊर्जालाई साथमा लिएर “मानवलाई मानवसँग जोड्ने” सङ्कल्पमा लगातार अगाडि बढिरहेको छ ।
“मुक्ति पर्व के हो ?”
सन्त निरंकारी मिशनमा ‘मुक्ति पर्व’ को धेरै गहिरो आध्यात्मिक र ऐतिहासिक महत्त्व रहेको छ । यो पर्व हरेक वर्ष अगस्त १५ का दिन संसारभरि फैलिएका मिशनका सत्संग भवनहरूमा श्रद्धापूर्वक मनाइने गरीन्छ । यस पर्वका मुख्य महत्त्व र उद्देश्यहरू निम्न अनुसार रहेकाछन् ।
१. महान सन्त र गुरुहरू प्रति श्रद्धाञ्जली 
यसको सुरुवात सबैभन्दा पहिले १५ अगस्त १९६४ मा शहंशाह बाबा अवतार सिंह ज्यूकी धर्मपत्नी अर्थात जीवनसंगिनी जगतमाता बुद्धवन्ती ज्यूको सम्झनामा गरीएको थियो । त्यसपछी १९६९ मा बाबा अवतार सिंह ज्यू ब्रह्मलीन (दिवंगत) हुँदा यसलाई ‘शहंशाह–जगतमाता दिवस’ को रूपमा मनाउन थालियो ।
१९७९ मा जब मिशनका प्रथम प्रधान सन्त लाभ सिंह ज्यूले आफ्नो शरीर त्याग्नुभयो, तब तत्कालीन सतगुरु बाबा गुरबचन सिंह ज्यूले यस दिनको नाम परिवर्तन गरेर ‘मुक्ति पर्व’ राख्नुभएको थियो । हालको अवस्थामा यो पर्वलाई विभिन्न समयहरूमा महाप्रस्थान मार्फत ब्रह्मलीन हुनुभएका मिशनका महान सन्तहरूलाई (जस्तै राजमाता कुलवन्त कौर ज्यू र सतगुरु माता सविन्दर हरदेव ज्यू) एउटै दिनमा संयुक्त रूपमा सम्झनका लागि यो दिन समर्पित गरिएको पाइन्छ ।
२. आध्यात्मिक मुक्ति
निरंकारी मिसनका अनुसार, यस दिनको मुख्य सन्देश यो हो कि सतगुरुबाट ब्रह्मज्ञान (परमात्माको साक्षात्कार) प्राप्त गरेर मानिस जन्म–मरणको चक्र (आवागमन) बाट मुक्त हुन्छ । त्यसैगरी मिशनले यो सिकाउँछ कि मुक्ति मरेपछि होइन, बरु जिउँदो छँदै प्रभु (निरंकार) को पहिचान गरेर र उहाँकै अनुभूतिमा जीवन बिताएर प्राप्त गर्न सकिन्छ ।
३. देशको स्वतन्त्रता र आत्मिक स्वतन्त्रताको संगम 
मिसनले यसको सुरुवात यस अर्थमा समेत गरेको पाइन्छ की १५ अगस्तका दिन भारतको स्वतन्त्रता दिवस पनि पर्दछ । सन्त निरन्कारी मिशनले यस दिनलाई देशको राजनीतिक स्वतन्त्रताका साथै आत्माको आत्मिक स्वतन्त्रता (मुक्ति) को प्रतीकका रूपमा मनाउँने गर्दछ । मिशनको मान्यता छ कि राजनीतिक स्वतन्त्रतासँगै वैचारिक र आध्यात्मिक स्वतन्त्रता पनि उत्तिकै आवश्यक छ ।
४. निःस्वार्थ सेवा र प्रेरणा 
मिसनले यो दिन ती सबै सन्तहरू प्रति आभार व्यक्त गर्ने दिनको रुपमा मनाउने गर्दछ, जसले सत्य, प्रेम र मानवताको सन्देश फैलाउन आफ्नो सम्पूर्ण जीवन समर्पित गरेकाछन् ।
यस दिनमा विश्वभरि विशेष समागम (सत्संग) आयोजना गरिन्छ, जहाँ वर्तमान सतगुरु माता सुदीक्षा ज्यु महाराज वा अन्य वरिष्ठ प्रचारकहरूका विचारमार्फत भक्तहरूलाई प्रेम, नम्रता र निःस्वार्थ सेवाको मार्गमा हिँड्ने प्रेरणा दिइन्छ ।
“संक्षेपमा भन्नुपर्दा, मुक्ति पर्व निरंकारी मिशनको इतिहासका ती स्तम्भ र सन्तहरूलाई स्मरण गर्ने दिन हो, जसले सम्पूर्ण मानवतालाई ब्रह्मज्ञानको उज्यालो दिएर अज्ञानताको बन्धनबाट मुक्त गराउन महत्वपुर्ण भुमिका खेलेका थिए ।” समाप्त
 
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल