भारत-नेपाल सीमा क्षेत्रमा भइरहेको लागूऔषध तस्करी नियन्त्रणसम्बन्धी जाँच अभियानका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले साढे तीन किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्राप्त जानकारीअनुसार, एसएसबीका जवानहरूले बनबासा चेकपोस्टमा नियमित जाँच गरिरहेका थिए । सोही क्रममा नेपालबाट भारत तर्फ लैजादै गरेका एक व्यक्तिको प्लास्टिक झोला स्क्यान गरिएको थियो । खानतलासी गर्दा झोलाभित्र गाँजा फेला परेको बताइएको छ ।
पुछताछका क्रममा आरोपीको नाम जमीर, पुत्र वसीमको रूपमा खुल्न आएको छ । आरोपीले नेपालको महेन्द्रनगर क्षेत्रबाट एक व्यक्तिसँग उक्त गाँजा खरिद गरेको र यसलाई दिल्ली लैजाँदै गरेको बताएको भारतीय एसएसबीले जनाएको छ ।
एसएसबीका सहायक कमाण्डन्ट रामचन्द्रले आरोपीलाई बनबासा प्रहरीको जिम्मा लगाइएको जानकारी दिएका छन् । प्रहरीले आरोपीविरुद्ध मुद्दा दर्ता गरी थप कारबाही अगाडि बढाइएको जनाएको छ ।
यसैबीच, भारत-नेपाल सीमाको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रहरी र एसएसबीको संयुक्त टोलीले जाँच अभियानसमेत सञ्चालन गरेको छ । टोलीले सीमा क्षेत्रमा गस्ती गरी शंकास्पद गतिविधिहरूमाथि निगरानी राखेको छ ।
यस अभियानको मुख्य उद्देश्य सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधि र तस्करीलाई प्रभावकारी ढङ्गले रोक लगाउनु रहेको जनाईएको छ । भारतीय सिमासुरक्षाबल स्रोतका अनुसार भारतीय क्षेत्रबाट लागुऔषध हिरोइन जस्ता पदार्थ नेपालमा भित्रीने र नेपालबाट गाँजा जन्य पदार्थ भारत तर्फ तस्करी हुनेगरेको वताइएको छ । यस्ता कार्यहरु रोक्नकालागी नेपाल भारत दुबै पक्षका सिमा सुरक्षाबलहरुको अहंम भुमिका रहने वताइएको छ ।