जिल्ला सर्लाही ब्रह्मपुरी गाउँपालिका वडा नं २ स्थित राजदेवी मन्दिर अगाडि स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गस्तिमा खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटरको डिकी, अन्य फर्स्ट बटन तथा बोकी ल्याएको कालो झोलाभित्र लुकाइछिपाई राखेको स्रोत नखुलेको नेपाली रुपैयाँ ५१ लाख ३४ हजार बरामद गरेको जनाएको छ ।
बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५०० रुपैयाँ दरका ३ हजार १०८ थान, १०० रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट रहेका छन्।
स्कुटर चालकलाई नियन्त्रणमा लिने क्रममा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं १२ बस्ने ५७ वर्षीय चालक जगन्नाथ महतो कोईरी घाइते भएको प्रहरीले जनाएको छ । कोईरीलाई प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीमा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल, मलंगवा लगि उपचार भइरहेको छ। कोईरीको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
कोईरीलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रलाई समेत सामान्य चोट लागेको वताइएको छ । उनीहरू प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बरामद रकम, स्कुटर र महतो कोईरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।