शनिबार, श्रावन २३, २०८३
/
पटना कफी हाउस ः एक द्विदेशीय बौद्धिक सेतूको स्मृति
२२ श्रावण २०८३
  जयप्रकास आनन्द
हरेक युग चेतनाको एउटा आत्मा हुन्छ । त्यो आत्मा कहिले कुनै महान् व्यक्तित्वमा बस्छ, कहिले कुनै आन्दोलनमा, त कहिले एउटा साधारण देखिने सार्वजनिक स्थलमा । इतिहासले देखाएको छ, कतिपय कफी हाउस, पुस्तकालय, चियाघर वा चौतारीले विश्वविद्यालयभन्दा गहिरा बहस जन्माएका छन्, संसद भन्दा दीर्घकालीन विचार निर्माण गरेका छन् । यस्ता स्थानहरू इँटा–सिमेन्टका संरचना मात्र होइनन्; ती समाजको बौद्धिक संस्कारका जीवित अभिलेख हुन् ।
भारतका प्राचीन पाटलिपुत्रको उत्तराधिकारी पटना भारतीय सभ्यता र ज्ञान–परम्पराको एक दीर्घजीवी केन्द्र हो । मगध, मिथिला र तिरहुतका विद्वत् प्रवाह यहाँ आएर एकअर्कासँग मिसिएका छन् । स्वतन्त्रतापछिको भारतमा विश्वविद्यालय, पुस्तकालय, प्रकाशन गृह, रंगमञ्च, पत्रकारिता र सार्वजनिक बहसको संस्कृतिले यस शहरलाई उत्तर भारतको महत्त्वपूर्ण बौद्धिक राजधानीका रूपमा स्थापित ग¥यो । यही परिवेशमा एउटा अनौपचारिक तर प्रभावशाली संस्था विकसित भयो—पटना कफी हाउस ।
ब्रिटिश शासनकालमा निर्मित औपनिवेशिक प्रशासनिक केन्द्र ‘डाक बंगला’ परिसरको छेउमा रहेको यो कफी हाउस स्थानका दृष्टिले सामान्य भए पनि भूमिकाका दृष्टिले असाधारण थियो । त्यहाँ लेखक, पत्रकार, प्राध्यापक, विद्यार्थी, कलाकार, समाजवादी चिन्तक, उग्रवादी कम्युनिष्ट, आनन्द मार्गी, बुद्धका उपासक र राजनीतिज्ञहरू एउटै छानामुनि भेटिन्थे। कफी केवल बहाना हुन्थ्यो; वास्तविक आकर्षण विचार, संवाद र असहमतिलाई सभ्य ढङ्गले सुन्ने संस्कार थियो ।
पटना कफी हाउसको महत्त्व बिहारसम्म सीमित थिएन । खुला सीमा, साझा सांस्कृतिक सम्बन्ध र लोकतान्त्रिक आन्दोलनका कारण यसको प्रतिध्वनि नेपालसम्म पुग्थ्यो । बी.पी. कोइराला, मातृकाप्रसाद कोइराला, भद्रकाली मिश्र, रामराजा प्रसाद सिंह, गजेन्द्र नारायण सिंह, प्रदीप गिरी, शैलजा आचार्य, चक्र बास्तोला, स्वामी आनन्द अरूण लगायत नेपाली सार्वजनिक जीवनका अनेक व्यक्तित्वहरूका कारण पटना नेपालका लागि पनि आत्मीय शहर बन्यो । यहाँ भएका संवादहरूले नेपाल–बिहारबीच वैचारिक निकटतालाई बलियो बनाएका थिए ।
आज त्यो पुरानो पटना कफी हाउस अस्तित्वमा छैन । समयसँगै भवन हरायो, परिवेश बदलियो र त्यस युगका अधिकांश पात्रहरू इतिहासका पानामा सीमित भए । तर त्यहाँ निर्माण भएको संवादको संस्कृति, लोकतान्त्रिक चेतना र बौद्धिक आत्मीयताको स्मृति भने अझै जीवित छ ।
पटना ः राजनीति, साहित्य र चेतनाको सहर
प्राचीन कालदेखि नै पटना, तत्कालीन पाटलिपुत्र, भारतीय इतिहासको केन्द्रमा रह्यो । मौर्य र गुप्त साम्राज्यको राजधानी बनेको यस भूमिले सम्राट अशोक, चाणक्य र बुद्धको युगदेखि नै राज्य, दर्शन र ज्ञानको संगमस्थलका रूपमा प्रतिष्ठा कमायो । आधुनिक युगमा पनि त्यस ऐतिहासिक निरन्तरताले नयाँ रूप लियो । मगध, मिथिला र तिरहुतको विद्वत् परम्परा यहाँ आएर एकअर्कासँग मिसियो, जसले पटनालाई केवल प्रशासनिक राजधानी होइन, विचार र ज्ञानको राजधानीका रूपमा पनि स्थापित गरायो ।
त्यसबेलाको पटना विश्वविद्यालय उत्तर भारतकै प्रतिष्ठित शैक्षिक केन्द्रमध्ये एक मानिन्थ्यो । यसको गहिरो सम्बन्ध नेपालको शिक्षाको बिकास संग पनि रहेको छ । पटनाको अर्को विशिष्ट पहिचान थियो, यसको पुस्तक–संस्कृति । गान्धी मैदानको पूर्वतर्फ अवस्थित खुदाबक्स ओरियन्टल पब्लिक लाइब्रेरी पूर्वीय, इस्लामिक र एशियाली अध्ययनका दुर्लभ पाण्डुलिपि तथा ग्रन्थहरूको विश्वप्रसिद्ध भण्डारका रूपमा परिचित थियो । त्यसैगरी पछि अशोक राजपथ नामले परिचित सडक वरिपरि, विशेषतः पटना मेडिकल कलेज आसपास, हिन्दीका प्रतिष्ठित प्रकाशन गृह र पुस्तक पसलहरूको लामो शृङ्खला थियो । नयाँ पुस्तक, नयाँ विचार र नयाँ लेखकसँग परिचित हुने त्यो क्षेत्र पटनाको बौद्धिक जीवनको अभिन्न अङ्ग बनेको थियो ।
त्यस समय साहित्य मनोरञ्जनको साधन मात्र थिएन; सामाजिक चेतनाको माध्यम थियो । हिन्दी, उर्दू, मैथिली, भोजपुरी, बङ्गला र नेपाली भाषाका लेखकहरू एउटै शहरमा भेटिनु असामान्य मानिँदैनथ्यो । यही बहुआयामिक वातावरणमा एउटा स्थान क्रमशः सबैको साझा भेटस्थल बन्दै गयो, पटना कफी हाउस । सायद त्यसैले धेरै समकालीनहरूले पटना कफी हाउसलाई एउटा सार्वजनिक संस्थाभन्दा पनि “विचारहरूको चौतारी” का रूपमा सम्झेका छन् । मैले पनि । यिनै सम्पदाले पटना केवल एउटा ऐतिहासिक सहर रहेन; त्यो दक्षिण एशियाको लोकतान्त्रिक, साहित्यिक र पत्रकारिताका प्रवाहहरू एकअर्कासँग भेटिने जीवित मञ्च बन्यो । नेपालसँग यसको सम्बन्ध पनि यही बौद्धिक परिवेशबाट अझ गहिरिँदै गयो । 
कफी हाउस ः जहाँ विचारहरूको मेला लाग्थ्यो
पटना शहरको मुटु मानिने डाक बंगला चौक केवल एउटा चोक थिएन; त्यो औपनिवेशिक शासनदेखि आधुनिक भारतसम्मको ऐतिहासिक यात्राको मौन साक्षी थियो । ब्रिटिश शासनकालमा निर्मित ‘डाक बंगला’ प्रशासनिक र यात्रु विश्रामस्थलका रूपमा परिचित थियो । समयसँगै त्यस वरिपरि विकसित भएको क्षेत्र स्वतन्त्र भारतको सार्वजनिक जीवनको केन्द्र बन्यो । यही परिसरको एक छेउमा अवस्थित थियो, पटना कफी हाउस । अलिक पछि, यहि आसपासमा नेपालका चर्चित राजनीतिज्ञ तथा पूर्व प्रधान मंत्री डा. तुलसी गिरीले पनि एक रेस्टोरेन्ट खोलेका थिए । यो पनि उत्तिकै उल्लेखनीय हुन्छ ।
दिनको कुनै पनि बेला कफी हाउसमा प्रवेश गर्दा विभिन्न समूहहरू आ–आफ्नै बहसमा तल्लीन देखिन्थे । एकातिर साहित्यकारहरू नयाँ कविता, कथा वा उपन्यासमाथि विमर्श गरिरहेका हुन्थे । अर्कातिर पत्रकारहरू भोलिको सम्पादकीयको विषय खोजिरहेका हुन्थे । कुनै कुनामा विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ता इतिहास, दर्शन वा समाजशास्त्रका जटिल प्रश्नमा बहस गरिरहेका हुन्थे भने अर्को कुनामा विद्यार्थीहरू उनीहरूका तर्क ध्यानपूर्वक सुनिरहेका हुन्थे । यहाँ कुनै टेबल कसैको निजी थिएन; विचारको संसारमा आरक्षित आसन हुँदैनथ्यो ।
यहाँका संवादहरू पूर्वनिर्धारित हुँदैनथे । कुनै दिन एउटा सानो समाचारबाट सुरु भएको बहस केही क्षणमै लोकतन्त्र, समाजवाद, भाषा, संस्कृति वा अन्तर्राष्ट्रिय राजनीतिसम्म पुग्थ्यो । कुनै कविताको एउटा पङ्क्तिले सामाजिक न्यायको प्रश्न उठाइदिन्थ्यो । कुनै पुस्तक समीक्षाले इतिहासको पुनव्र्याख्याबारे गम्भीर बहस जन्माइदिन्थ्यो । विचारहरू एकअर्कासँग टकराउँथे, तर मानिसहरू टकराउँदैनथे । यस अर्थमा यो शहरको अनौपचारिक बौद्धिक संसद् जस्तै थियो ।
नेपालबाट आउने राजनीतिज्ञ, लेखक वा पत्रकारका लागि पनि यो स्वाभाविक भेटस्थल बन्थ्यो । भारत र नेपालका सार्वजनिक जीवनबीचको आत्मीय सम्बन्धका कारण यहाँ सीमापारका विषयहरू पनि उत्तिकै स्वाभाविक रूपमा उठ्थे । नेपालको राजनीतिक अवस्था, भारतीय समाजवादी आन्दोलन, दक्षिण एशियाको बदलिँदो परिस्थिति र साहित्यिक गतिविधिहरू एउटै संवादमा मिसिन्थे । त्यसैले पटना कफी हाउस केवल बिहारको सार्वजनिक स्थल रहेन; यसले नेपाल–बिहारबीचको बौद्धिक सम्पर्कलाई पनि सुदृढ बनायो ।
आज त्यो पुरानो पटना कफी हाउस अस्तित्वमा छैन । समय बदलियो र सार्वजनिक जीवनका शैलीहरू पनि फेरिए । 
बी.पी. कोईराला, पटना र कफी हाउस ः एउटा साझा बौद्धिक सम्बन्ध
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा पटना केवल एउटा छिमेकी भारतीय सहर होइन; त्यो वैचारिक तयारी, राजनीतिक सम्पर्क र लोकतान्त्रिक सहकार्यको महत्त्वपूर्ण केन्द्रका रूपमा उपस्थित हुन्छ । विशेषतः वि.सं. २००७ (सन् १९५०–५१) को प्रजातान्त्रिक क्रान्तिको पृष्ठभूमि बुझ्न खोज्दा पटनाको भूमिका स्वाभाविक रूपमा स्मरणमा आउँछ । त्यही परिवेशमा बि.पी. कोईरालाको पटनासँगको सम्बन्धले एउटा विशेष ऐतिहासिक अर्थ ग्रहण गर्छ ।
बी.पी.का लागि पटना राजनीतिक सम्पर्कको मात्र केन्द्र थिएन; त्यो वैचारिक ऊर्जा प्राप्त गर्ने शहर पनि थियो । भारतीय स्वतन्त्रता आन्दोलनको प्रभाव, समाजवादी चिन्तनको उभार, विश्वविद्यालयहरूको बौद्धिक वातावरण, सक्रिय पत्रकारिता र साहित्यिक जीवन, यी सबैले उनलाई आकर्षित गर्थे । राजनीतिलाई साहित्य, दर्शन र मानवीय संवेदनासँग जोडेर हेर्ने उनको दृष्टिका कारण पनि पटना उनको स्वाभाविक बौद्धिक गन्तव्य बनेको थियो । त्यस समयको पटना कफी हाउस यस्ता संवादहरूको सबैभन्दा जीवन्त सार्वजनिक स्थल थियो । यही वातावरणमा बी.पी. पनि सहज रूपमा घुलमिल हुन्थे । उनी बोल्नेभन्दा बढी सुन्ने, अनि सुनेपछि विचारपूर्वक आफ्नो धारणा राख्ने व्यक्तिका रूपमा चिनिन्थे ।
बी.पी.को व्यक्तित्वको एउटा महत्त्वपूर्ण पक्ष उनको साहित्यिक चेतना थियो । उनी केवल आन्दोलनका नेता थिएनन्; संवेदनशील कथाकार, उपन्यासकार र गम्भीर पाठक पनि थिए । विश्वसाहित्य, मनोविज्ञान, दर्शन र समाजशास्त्रप्रतिको उनको रुचिले गर्दा कफी हाउसमा हुने संवादहरू उनीका लागि राजनीतिक बैठकभन्दा कम महत्त्वका थिएनन् । कुनै दिन चर्चा नेपालको आन्दोलनबारे हुन्थ्यो भने अर्को दिन दोस्तोएभ्स्की, टल्स्टोय, प्रेमचन्द वा मानव मनोविज्ञानका प्रश्नहरूमा पुग्थ्यो । यही बहुआयामिक संवादले बी.पी.को बौद्धिक संसारलाई अझ समृद्ध बनाएको अनुमान गर्न सकिन्छ ।
समकालीन समाजवादी चिन्तक देवेन्द्र प्रसाद सिंह बी.पी.का निकटतम मित्रहरूमध्ये एक थिए । सिंह पछि गएर भागलपुर विश्वविद्यालयका उपकुलपति बने । बी.पी. र उनीबीचको सम्बन्ध केवल राजनीतिक सहकार्यमा सीमित थिएन; त्यो साहित्य, समाज, लोकतन्त्र र मानव स्वतन्त्रताबारेको साझा चिन्तनमा आधारित गहिरो मित्रता थियो । समाजवादी नेता चन्द्रशेखर जो पछि भारतका प्रधान मंत्री भए, कतिपय पटक बिपी संगै कफि शप देखिन्थे । प्रो. बिमल प्रसाद को नाम पनि बिर्सन सकिन्न् । पटना कै निवासी बिमल प्रसाद बि.स. २०४८ पछि नेपालमा भारतका राजदूत भए, बिपीका मित्र उनि पनि तेस कफि हाउसमा देखिई रहने व्यक्तित्व थिए । त्यसै समय नेपालका अन्य प्रभावशाली व्यक्तित्वहरू, डा. तुलसी गिरी र डा. नागेश्वर प्रसाद सिंह पनि पटनामा सक्रिय थिए । गजेन्द्र नारायण सिंहको दरभंगा पछि पटना दोस्रो आश्रय स्थल नै थियो । तुलसी गिरी, डा. नागेस्वर सिंह उनीहरूको राजनीतिक यात्राले पछि फरक दिशा लिए पनि, त्यस समय पटनाको बौद्धिक जीवनसँग उनीहरूको सम्पर्क थियो । 
पटनाबाट प्रकाशित हुने ‘द सर्चलाइट’ र ‘आर्यावर्त’ जस्ता प्रभावशाली पत्रपत्रिकाका पत्रकारहरू पनि बी.पी.सँग नियमित संवाद गर्न इच्छुक रहन्थे । नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिनु मात्र उनीहरूको उद्देश्य हुँदैनथ्यो; उनीहरू बी.पी.को लोकतन्त्र, राष्ट्रियता, समाजवाद र दक्षिण एशियाको भविष्यबारेको दृष्टिकोण बुझ्न चाहन्थे । यस प्रकारका संवादहरूले पत्रकारिता र राजनीतिबीच विश्वासको एउटा स्वस्थ सम्बन्ध निर्माण गरेका थिए ।
बी.पी.को उपस्थितिले कफी हाउसका संवादलाई अर्को आयाम पनि दिएको थियो । उनी राजनीतिक विषयमा जति सहज थिए, साहित्य र संस्कृतिबारे पनि उत्तिकै आत्मीयतापूर्वक बोल्थे । यही उनलाई केवल राजनीतिक नेताका रूपमा होइन, सार्वजनिक बौद्धिक व्यक्तित्वका रूपमा सम्मान गर्थे । बी.पी. र पटना कफी हाउसको सम्बन्धलाई कुनै एक भवनसँग मात्र जोडेर हेर्नु उचित हुँदैन । त्यो सम्बन्ध वास्तवमा एउटा बौद्धिक संस्कृतिसँगको सम्बन्ध थियो । 
आज त्यो कफी हाउस अस्तित्वमा छैन, तर त्यहाँ भएका संवादहरूको प्रतिध्वनि बी.पी.को व्यक्तित्व, उनका लेखन र नेपाल–भारतबीच विकसित भएको लोकतान्त्रिक आत्मीय सम्बन्धमा अझै सुनिन्छ । 
सदाकत आश्रम, मातृकाप्रसाद कोईराला र पटना–नेपालको आत्मीय सम्बन्धः
नेपाल र बिहारबीचको सम्बन्ध केवल खुला सीमाले निर्माण गरेको सम्बन्ध होइन । यसको आधार साझा इतिहास, लोकतान्त्रिक मूल्य, सांस्कृतिक निकटता र दशकौँदेखि विकसित हुँदै आएको मानवीय आत्मीयता हो । यस सम्बन्धलाई बुझ्न पटनाको सदाकत आश्रम एउटा महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भ बनेर उभिन्छ । भारतीय स्वतन्त्रता आन्दोलन, महात्मा गान्धीको सार्वजनिक जीवन, डा. राजेन्द्र प्रसादको राजनीतिक यात्रासँगै नेपाली प्रजातान्त्रिक आन्दोलनका केही महत्त्वपूर्ण अध्यायहरू पनि यस आश्रमसँग जोडिएका छन् ।
सदाकत आश्रमको स्थापना भारतीय स्वतन्त्रता आन्दोलनकै क्रममा भएको थियो । महात्मा गान्धी पटना आउँदा यही आश्रमलाई आफ्नो प्रमुख विश्रामस्थल बनाउने गर्थे । स्वतन्त्रतापछि भारतका प्रथम राष्ट्रपति डा.राजेन्द्र प्रसादले पनि आफ्नो सार्वजनिक जीवनको महत्त्वपूर्ण समय यहीँ बिताए । यही आश्रमसँग नेपालको लोकतान्त्रिक आन्दोलनको पनि एउटा आत्मीय सम्बन्ध गाँसिएको थियो । नेपालका प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पछि प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोईराला लामो समयसम्म यही आश्रममा बसे । त्यसबेला भारत स्वतन्त्र भइसकेको थियो, तर नेपालमा राणा शासनविरुद्धको आन्दोलन उत्कर्षतर्फ उन्मुख हुँदै थियो । 
यस सन्दर्भमा नेपाली समाजवादी नेता भद्रकाली मिश्रको नाम पनि उल्लेखनीय छ । युवावस्थामा उनी सदाकत आश्रमको वातावरणसँग निकट रहे । गान्धीवादी जीवनदृष्टि, सार्वजनिक अनुशासन र लोकतान्त्रिक संस्कारले उनको राजनीतिक सोचलाई गहिरो प्रभाव पारेको देखिन्छ । पटना बसाइका क्रममा उनी कफी हाउसमा हुने बौद्धिक छलफलका पनि नियमित सहभागी थिए । त्यहाँ नेपाली र भारतीय पत्रकार, समाजवादी चिन्तक तथा साहित्यकारहरूसँग उनका विचार आदान–प्रदान हुने गर्थे ।
त्यसबेला पटनाबाट प्रकाशित हुने प्रभावशाली पत्रपत्रिकाहरूले पनि यस वातावरणलाई निरन्तरता दिएका थिए । नेपालका राजनीतिक घटनाक्रमप्रति उनीहरूको चासोका कारण नेपाली नेताहरू, भारतीय पत्रकारहरू र बौद्धिक समुदायबीच प्रत्यक्ष सम्पर्क कायम रहन्थ्यो । यस प्रक्रियामा भने कफी हाउसले त्यसलाई सार्वजनिक संवादमा रूपान्तरण ग¥यो । पटना कफी हाउसको पुरानो स्वरूप भने अब इतिहासमै सीमित छ । 
१९५० को प्रजातान्त्रिक क्रान्ति, समाजवादी आन्दोलन र पटनाः
नेपालको वि.सं. २००७ (सन् १९५०–५१) को प्रजातान्त्रिक क्रान्ति नेपालको आधुनिक इतिहासको एउटा निर्णायक मोड थियो । यसले एक शताब्दीभन्दा लामो राणा शासनको अन्त्य गर्दै प्रजातान्त्रिक शासन व्यवस्थाको मार्ग प्रशस्त ग¥यो । यस आन्दोलनको केन्द्र निस्सन्देह नेपालभित्र थियो, तर त्यसको वैचारिक, सांगठनिक र आंशिक रणनीतिक तयारीमा भारतीय भूमि, विशेषतः बिहार र पटना, ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यही कारणले नेपालको लोकतान्त्रिक इतिहासमा पटनाको नाम सम्मानका साथ स्मरण गरिन्छ ।
त्यसबेला भारत स्वयं स्वतन्त्रताको नयाँ यात्रामा थियो । स्वतन्त्रता आन्दोलनबाट निस्केका समाजवादी नेता, बुद्धिजीवी र विद्यार्थीहरू लोकतन्त्र, सामाजिक न्याय र जनसहभागिताका नयाँ प्रश्नमाथि विमर्श गरिरहेका थिए । नेपालमा राणा शासनविरुद्ध संघर्षरत लोकतान्त्रिक शक्तिहरूप्रति उनीहरूको सहानुभूति केवल छिमेकी राष्ट्रप्रतिको सद्भाव थिएन; उनीहरूले त्यसलाई दक्षिण एशियामा स्वतन्त्रता र लोकतान्त्रिक मूल्य विस्तारको साझा अभियानका रूपमा हेरेका थिए ।
यस आन्दोलनको एउटा कम चर्चित तर अत्यन्त महत्त्वपूर्ण पक्ष के थियो भने भारतीय सहयोग केवल नैतिक समर्थनमा सीमित रहेन । नेपाली नेताहरूले भारतमै बसेर आन्दोलनको संगठनात्मक आधार निर्माण गरे । बी.पी. कोईराला, गणेशमान सिंह, सुवर्ण शमशेर, डा. डिल्लीरमण रेग्मी लगायतका नेताहरूले भारतका विभिन्न शहरहरूमा रहँदै नेपालीहरूलाई संगठित गरे । भारतीय समाजवादी नेतृत्वले पनि यस आन्दोलनलाई खुलेर साथ दियो । जयप्रकाश नारायण, डा. राममनोहर लोहिया र आचार्य जे.बी. कृपलानी जस्ता नेताहरूले नेपाली प्रजातान्त्रिक आन्दोलनलाई सार्वजनिक समर्थन दिएका थिए । उनीहरूको दृष्टिमा लोकतन्त्रको विजय कुनै एक देशको उपलब्धि मात्र होइन, सम्पूर्ण दक्षिण एशियाको लोकतान्त्रिक भविष्यसँग जोडिएको विषय थियो । बिहारका समाजवादी कार्यकर्ताहरूले पनि नेपाली लोकतान्त्रिक आन्दोलनसँग सक्रिय सम्पर्क राखे र आवश्यक सहयोग उपलब्ध गराए ।
यस आन्दोलनमा साहित्यकार, पत्रकार र सामाजिक कार्यकर्ताहरूको सहभागिता पनि उल्लेखनीय रह्यो । हिन्दी साहित्यका प्रख्यात कथाकार फणीश्वरनाथ रेणुले केवल आफ्नो कलमबाट मात्र होइन, प्रत्यक्ष रूपमा आन्दोलनमा सहभागी भएर पनि ऐक्यबद्धता जनाए । कलकताका पत्रकार भोला चटर्जीले पनि आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । डा. कुलदीप झा कुशहा मोर्चामा शहीद भए भने देवेन्द्र प्रसाद सिंह, नरसिंह नारायण सिंह, भावुक गुरुजी लगायत अनेक भारतीय सहयोगीहरूले आन्दोलनलाई विभिन्न रूपमा योगदान पु¥याए । 
यस ऐतिहासिक सहकार्यका पछाडि कुनै औपचारिक अन्तर्राष्ट्रिय संयन्त्र थिएन । साझा आदर्श, व्यक्तिगत विश्वास र मानवीय आत्मीयताले नै त्यसलाई सम्भव बनाएको थियो । यही कारणले पटना जस्ता शहरहरू विशेष महत्त्वका बने । यस सम्पूर्ण वातावरणमा पटना कफी हाउस एउटा मौन तर प्रभावशाली केन्द्रका रूपमा उपस्थित थियो ।
त्यसबेलाको अर्को विशेषता राजनीति र साहित्यबीचको निकट सम्बन्ध थियो । लेखकहरू लोकतन्त्रबारे बोल्थे, राजनीतिज्ञहरू साहित्य र संस्कृतिमाथि धारणा राख्थे, पत्रकारहरूले दुवैलाई समाजसम्म पु¥याउने काम गर्थे । बी.पी. कोइरालाजस्ता साहित्यिक चेतना भएका नेताका लागि यस्तो वातावरण अत्यन्त स्वाभाविक थियो । उनले पटनामा राजनीतिक सहयोगी मात्र होइन, वैचारिक सहयात्री पनि पाए ।
सन् १९५० को आन्दोलन समाप्त भएपछि पनि त्यस समय बनेका सम्बन्धहरू समाप्त भएनन् । व्यक्तिहरू आ–आफ्नो भूमिकामा फर्किए, राजनीतिक परिस्थितिहरू बदलिँदै गए, तर त्यस युगमा निर्माण भएको विश्वास र आत्मीयता दशकौँसम्म कायम रह्यो । त्यसको प्रभाव नेपाल–भारत सम्बन्ध, पत्रकारिता, साहित्य र लोकतान्त्रिक संवादमा दीर्घकालसम्म देख्न सकिन्छ ।
आज २००७ सालको प्रजातान्त्रिक क्रान्तिलाई सम्झँदा हामी प्रायः युद्ध, आन्दोलन र राजनीतिक उपलब्धिको चर्चा गर्छौं । तर त्यसको अर्को महत्त्वपूर्ण पक्ष, सीमापारको लोकतान्त्रिक सहकार्य, समाजवादी एकता, साहित्यिक प्रतिबद्धता र मानवीय मित्रता, कम चर्चामा आउँछ । पटना र त्यहाँको बौद्धिक वातावरणले यही पक्षलाई उजागर गर्छ ।
कालिदास रंगालय, कफी हाउस र बी.पी.को सांस्कृतिक संसारः 
बी.पी. कोईरालालाई केवल राजनीतिज्ञका रूपमा मात्र बुझ्दा उनको व्यक्तित्वको एउटा अत्यन्त महत्त्वपूर्ण पक्ष ओझेलमा पर्छ । उनी राजनीतिसँगै साहित्य, दर्शन, मनोविज्ञान, इतिहास र रंगकलाप्रति गहिरो अनुराग राख्ने सार्वजनिक बौद्धिक व्यक्तित्व थिए । उनका लागि राजनीति सत्ताको अभ्यास मात्र होइन, मानिसको चेतना, संस्कृति र नैतिकताको प्रश्न पनि थियो । यही कारणले उनी जहाँ रहे पनि पुस्तक, लेखक, कलाकार र विचारकहरूको संसारसँग निरन्तर जोडिइरहे ।
त्यसबेलाको पटना यस्तै बहुआयामिक बौद्धिक जीवन भएको शहर थियो । विश्वविद्यालय, पुस्तकालय, प्रकाशन संस्था, नाट्य मञ्च, पत्रकारिता र कफी हाउस, यी सबै एकअर्काका प्रतिस्पर्धी होइन, पूरक संस्थाजस्ता थिए । यही वातावरणले पटनालाई उत्तर भारतको एउटा विशिष्ट सांस्कृतिक राजधानीको स्वरूप दिएको थियो ।
गान्धी मैदानको आसपास अवस्थित कालिदास रंगालय त्यस समय बिहारको सबैभन्दा प्रतिष्ठित नाट्य मञ्चमध्ये एक थियो । यहाँ हिन्दी मात्र होइन, भारतीय तथा विश्व रंगमञ्चका प्रतिनिधि नाटकहरू नियमित रूपमा मञ्चन हुन्थे । समकालीन संस्मरणहरूमा बी.पी. कोइरालाले कालिदास रंगालयमा मञ्चन हुने नाटकहरूमा रुचिपूर्वक उपस्थित हुने गरेको उल्लेख पाइन्छ । 
उनका लागि नाटक मनोरञ्जनको साधन मात्र थिएन; त्यो समाज, राजनीति र मानवीय मनोविज्ञान बुझ्ने अर्को माध्यम थियो । यही संवेदनशीलता पछि उनका साहित्यिक कृतिहरूमा पनि स्पष्ट देखिन्छ । तर नाटकको वास्तविक यात्रा प्रायः पर्दा झरेपछि सुरु हुन्थ्यो । कालिदास रंगालयबाट बाहिरिएका धेरै लेखक, पत्रकार, कलाकार र चिन्तकहरू सिधै पटना कफी हाउसतर्फ लाग्थे ।
त्यसबेलाको पटनामा साहित्य र राजनीतिबीच कुनै कठोर विभाजन थिएन । प्रेमचन्द, प्रसाद, निराला वा रेणुको चर्चा भइरहँदा लोकतन्त्र, किसान आन्दोलन वा सामाजिक परिवर्तनका प्रश्नहरू पनि सहज रूपमा उठ्थे । कुनै दिन शेक्सपियर, इब्सेन वा बर्नार्ड शाका नाटकमाथि बहस हुन्थ्यो भने अर्को दिन भारतीय समाजवादी आन्दोलन र दक्षिण एशियाको भविष्यबारे छलफल चल्थ्यो । विचारका यी सबै प्रवाहहरू कफी हाउसमा आएर एकअर्कासँग संवाद गर्थे ।
बी.पी.को सार्वजनिक जीवनले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, लोकतन्त्र केवल निर्वाचन, संविधान वा सरकारबाट मात्र सुदृढ हुँदैन । त्यसलाई साहित्य, कला, रंगमञ्च, पत्रकारिता र स्वतन्त्र विचारको वातावरणले पनि उत्तिकै बलियो बनाउँछ । सम्भवतः यही कारणले उनले सार्वजनिक जीवनमा सांस्कृतिक संस्थाहरूको भूमिकालाई विशेष महत्त्व दिएका थिए । पुस्तकालय, नाट्यशाला र कफी हाउस उनीका लागि लोकतान्त्रिक समाजका मौन तर अपरिहार्य विद्यालय थिए ।
यसैले बी.पी. कोईराला, कालिदास रंगालय र पटना कफी हाउसबीचको सम्बन्ध कुनै व्यक्तिगत रुचिको प्रसङ्ग मात्र होइन । त्यो दक्षिण एशियाको उदार, लोकतान्त्रिक र सांस्कृतिक रूपमा सचेत बौद्धिक परम्पराको प्रतिनिधि सम्बन्ध हो, जहाँ साहित्यले राजनीतिलाई मानवीय बनाउँछ, रंगमञ्चले समाजलाई ऐना देखाउँछ, र संवादले लोकतन्त्रलाई जीवन्त राख्छ ।
पत्रकारिता, ‘द सर्चलाइट’, ‘आर्यावर्त’ र नेपाल–बिहारको बौद्धिक संवादः
कुनै समाजको बौद्धिक स्तर मापन गर्ने एउटा महत्त्वपूर्ण आधार त्यहाँको पत्रकारिता पनि हो । विश्वविद्यालयले विचार जन्माउँछ, साहित्यले त्यसलाई संवेदनशील बनाउँछ, तर पत्रकारिताले ती विचारलाई समाजसम्म पु¥याउँछ । बीसौँ शताब्दीको मध्यतिर पटना यस्तै सशक्त पत्रकारिताको केन्द्र थियो । त्यहाँबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाहरूले केवल बिहारको जनमत निर्माण मात्र गर्दैनथे; सीमावर्ती नेपालको राजनीतिक र बौद्धिक जीवनमा पनि उल्लेखनीय प्रभाव पार्थे ।
त्यसबेला अंग्रेजी दैनिक ‘द सर्चलाइट’ र हिन्दी दैनिक ‘आर्यावर्त’ बिहारका सर्वाधिक प्रभावशाली समाचारपत्रमध्ये गनिन्थे । आर्यावर्त दैनिकको स्वामित्व “दरभंगा महाराज” को थियो । आज नगण्य नेपालीलाई थाहा होला कि एडमण्ड हिलारी र तेन्जिंग शेर्पाले गरेको सगरमाथा, एभरेष्टको पहिलो अभियानमा यिनै दरभंगा महाराजाको पनि महत्वपूर्ण भौतिक योगदान रहेको थियो । खुला सीमा, सांस्कृतिक निकटता र निरन्तर राजनीतिक सम्पर्कका कारण नेपालका समाचार बिहारका लागि आन्तरिक चासोसरह महत्त्व राख्थे। नेपालमा राणा शासनविरुद्धको आन्दोलन तीव्र बन्दै जाँदा यी पत्रपत्रिकाले त्यसका घटनाक्रम, नेपाली कांग्रेसका गतिविधि, भारत–नेपाल सम्बन्ध तथा लोकतान्त्रिक संघर्षका विभिन्न पक्षलाई निरन्तर स्थान दिए । राजा महेन्द्रले सन् ६० मा संसदीय प्रजातन्त्रको हत्या गरेपछिको प्रजातन्त्र स्थापनाको आन्दोलनमा पनि यी पत्रिकाहरूको योगदान रह्यो । बि.पी. कोईराला पटना आएका बेला पत्रकारहरू उनीसँग भेट्न उत्सुक रहन्थे । उनीहरू नेपालको तत्कालीन राजनीतिक अवस्था मात्र होइन, लोकतन्त्र, राष्ट्रियता, समाजवाद, भारत–नेपाल सम्बन्ध र दक्षिण एशियाको बदलिँदो राजनीतिक दिशाबारे पनि उनको दृष्टिकोण बुझ्न चाहन्थे ।
पटना कफी हाउसमा हुने छलफलहरूमा नेपालका विषय नियमित रूपमा उठ्थे । राणा शासन, राजा महेन्द्रले गरेको सैनिक कू, प्रजातन्त्र स्थापनाको आन्दोलन, सीमापारको जनजीवन, भारत–नेपाल सम्बन्ध, भाषा, संस्कृति र लोकतन्त्रका साझा चुनौतीहरूमाथि खुला बहस हुन्थ्यो । पत्रकारहरूले यस्ता संवादलाई समाचारको स्रोत मात्र होइन, विचार निर्माणको विद्यालयका रूपमा पनि उपयोग गर्थे । इतिहासमा केही स्थानहरू यस्ता हुन्छन्, जसको महत्त्व तिनका भौतिक संरचनाले होइन, त्यहाँ निर्माण भएको चेतनाले निर्धारण गर्छ । पटना कफी हाउस त्यस्तै एउटा ऐतिहासिक सार्वजनिक स्थल थियो । 
यस संस्मरणमा उल्लेख गरिएका व्यक्तित्व, घटना र प्रसङ्गहरू हेर्दा स्पष्ट हुन्छ, बीसौँ शताब्दीको मध्यकालीन पटना केवल एउटा प्रशासनिक राजधानी थिएन । प्राचीन मगध, मिथिला र तिरहुतको विद्वत् परम्परालाई आधुनिक लोकतान्त्रिक चेतनासँग जोड्ने एउटा जीवन्त केन्द्र थियो । 
नेपालका लागि पनि यस कफी हाउसको स्मृति विशेष अर्थ राख्छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलन, भारतीय समाजवादी आन्दोलनसँगको सहकार्य, सदाकत आश्रममा विकसित आत्मीय सम्बन्ध, मातृकाप्रसाद कोईराला, विश्वेश्वरप्रसाद कोईराला, भद्रकाली मिश्र तथा अन्य नेपाली नेताहरूको पटना बसाइ, र बिहारका साहित्यकार, पत्रकार तथा समाजवादी चिन्तकहरूसँगको निरन्तर संवाद, यी सबैले पटना र नेपालबीचको सम्बन्धलाई केवल भौगोलिक निकटतामा सीमित राखेनन्; त्यसलाई साझा लोकतान्त्रिक संस्कृतिमा रूपान्तरण गरे ।
यस स्मृति आलेखको उद्देश्य पटना कफी हाउसको इतिहासलाई अतिरञ्जित बनाउनु वा त्यसलाई कुनै मिथकीय आख्यानमा रूपान्तरण गर्नु होइन । यसको उद्देश्य एउटा बिर्सिँदै गएको बौद्धिक संस्कृतिलाई, जसले मेरो युवावस्थाको चिन्तन प्रणालीलाई पनि यौटा धारमा डोर्याउन मद्दत गरेको थियो, त्यसको पुनः स्मरण गर्नु हो । नेपाल र भारतका भावी पुस्ताले यदि साझा इतिहासको प्रेरणा खोज्ने हो भने यस्ता स्थल, यस्ता सम्बन्ध र यस्ता स्मृतिहरूको पुनः अध्ययन आवश्यक छ । 
किनभने यो इतिहास केवल सीमा तस्करी तथा तेसका नियन्त्रण निम्ति संयन्त्रहरूको निर्माण, काँटे तारबाट घेरबेरका उपायहरूको खोजी, द्विपक्षीय झै–झगडा, सीमा बिवाद तथा सन्धि परिमार्जन अनि प्रमहरूलाई भ्रमणका लागि दिईने निमन्त्रणा, धार्मिक द्वन्दहरूको आयात, निर्यात, सत्ताको कथा होइन; इतिहास संवाद  संस्कृतिको पनि कथा हो । 
हाम्रो राजधानीमा यस्तै एक कफि हाउसको रूपमा “इन्दिरा रेस्टोरेन्ट” थियो, पिपल पोटमा । आज रहेन, फेरी बनेन पनि । पटनाको त्यो कफि शप पनि नासियो । यी दुबैसंग मेरा पनि स्मृतिहरू टाँसिएर रहेका छन् । (समाप्त)
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल