आस्थाको सुगन्ध र भक्तिको मिठासले महकिनगयो ७९औँ निरंकारी सन्त समागमको पहिलो दिन । निरंकारी अनुयायीहरुको प्रेम भावनाले मानवले मानवसंग गरिने समानताको झलकहरु देखिएका थिए ।
सोही क्रममा "जब हृदयमा प्रेमाभक्तिको प्रकाश जागृत हुन्छ, तब जीवनको प्रत्येक भाव प्रेम, समर्पण र मानव एकताको दिव्य अनुभूतिले महक उठ्छ।" यही आध्यात्मिक चेतना एवं प्रेमपूर्ण सन्देशले ओतप्रोत निरंकारी सतगुरु माता सुदीक्षा जी महाराजले समालखा (हरियाणा) स्थित निरंकारी आध्यात्मिक स्थलमा आयोजित चार दिवसीय ७९औँ वार्षिक निरंकारी सन्त समागमको पहिलो दिन कात्तिक ६ गते देश-विदेशबाट सम्मिलित लाखौँ श्रद्धालुहरूलाई सम्बोधन गर्दै प्रेम, भक्ति र मानवीय एकताको महत्त्वलाई प्रकाश पार्नुभएको छ ।
सतगुरु माता जीले आफ्नो पावन प्रवचनमा भन्नुभएको छ कि ब्रह्मज्ञान जागृतिको अन्तिम चरण होइन, बरु यसको सुरुवात मात्र हो । साँचो जागृति त्यो हो, जब मानिसले जीवनको प्रत्येक पलमा निराकारको अनुभूतिका साथ प्रेम, विश्वास र नम्रतापूर्वक जीवन बिताओस् । सत्संगमा केवल उपस्थित हुनु मात्र पर्याप्त छैन, बरु त्यहाँबाट प्राप्त शिक्षालाई आफ्ना व्यवहारमा आत्मसात गर्नु आवश्यक छ । हाम्रो सेवा र समर्पण देखावटीकालागि नभई साँचो भावयुक्त हुनुपर्दछ । अरूप्रति प्रेम राख्नु, निन्दा र अहंकारबाट बच्नु तथा आफ्नो बोली र कर्मबाट राम्रोपन झल्काउनु नै वास्तविक आध्यात्मिक जागृतिको पहिचान हो ।
त्यसैगरी उक्त कार्यक्रममा सतगुरु माता जीले प्रेरणा दिनुभयो कि परमात्माद्वारा प्रदत्त साधनहरूको उपयोग मानवताको सेवा एवं परोपकारका लागि गरिनुपर्दछ । जीवनको हरेक परिस्थितिमा मनको शान्ति, सहजता र विश्वास कायम राख्नुपर्दछ ।
कार्यक्रमको अन्तमा माता जीले आशीर्वाद दिँदै कामना गर्नुभयो कि सबै श्रद्धालुहरूको जीवनमा सेवा, सुमिरन र सत्संगप्रति समर्पण कायम रहोस् तथा ब्रह्मज्ञानबाट प्राप्त दिव्य प्रकाशले सदैव उनीहरूको जीवनमा प्रेम, शान्ति र भक्ति छाइरहोस् ।
सन्त निरंकारी मण्डलको आयोजनामा भइरहेको उक् ७९औं सन्तसमागममा देश-विदेशका विभिन्न संस्कृति एवं पृष्ठभूमिका श्रद्धालुहरूको प्रेमपूर्ण मिलनले समागम स्थललाई भक्ति, एकता र सद्भावनाको दिव्य भावले गुन्जायमान गरिरहेको थियो ।
त्यसैगरी आज कार्तिक ७ गते शनिवार गरिएको समागमको दोस्रो दिनको शुभारम्भ भव्य सेवादल र्यालीबाट भयो, जसमा नेपाल, भारतका विभिन्न राज्यहरू एवं अन्य तेस्रो मुलुकबाट सम्मिलित हजारौँ सेवादल दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहपूर्वक भाग लिए । सेवादल र्यालीमा शारीरिक व्यायाम, स्किट, खेलकुद, सांस्कृतिक प्रस्तुतिहरू एवं मिशनका शिक्षामा आधारित लघु नाटकहरूका माध्यमबाट अनुशासन, सहयोग र निस्वार्थ सेवाको सुन्दर सन्देश दिइयो ।
सेवादल र्यालीमा उपस्थित दाजुभाइ-दिदीबहिनीहरू तथा श्रद्धालुहरूलाई आशीर्वाद दिँदै सद्गुरु माता जीले सन्देश दिनुभयो कि सेवा केवल ड्युटी निभाउनमा मात्र सीमित छैन, यो जीवनको अभिन्न अङ्ग हो । साँचो सेवादल त्यो हो, जसले निरंकारलाई हृदयमा बसाएर हरेक परिस्थितिमा मानवताको कल्याणकालागि तत्पर रहन्छ।
सद्गुरु माता जीले प्रेरणा दिदै भन्नुभयो कि, निरंकारमा अटल विश्वास राख्दै सकारात्मक दृष्टिकोण अपनाउनुहोस् तथा तन, मन र धनलाई परोपकारमा लगाएर जीवनलाई सार्थक बनाउनुहोस् ।
यसअघि, सद्गुरु माता जीको करकमलबाट शान्ति र एकताको प्रतीक मिशनको ‘श्वेत ध्वजा’ को ध्वजारोहण गरिएको थियो ।
सेवादल र्यालीका क्रममा सेवादलका मुख्य सञ्चालक श्री एस.के. जुनेजा जीले विश्वभरबाट आउनुभएका सेवादल स्वयंसेवकहरूको तर्फबाट सद्गुरु माता जीको चरणमा श्रद्धा अर्पण गर्दै सबैका लागि पावन आशिषको कामना गर्नुभयो ।