“ब्रह्मज्ञानको वास्तविक सार्थकता र त्यसलाई जीवनमा अपनाउनु र आफ्ना विचार, व्यवहार एवम् कर्महरूमा समावेश गर्नुमा छ ।” यही दिव्य भाव सद्गुरु माता सुदीक्षा जी महाराजले ७९औँ वार्षिक निरंकारी सन्त समागमको समापन दिवसमा लाखौँको सङ्ख्यामा उपस्थित श्रद्धालुहरूलाई आफ्नो पावन आशीर्वचन मार्फत प्रदान गर्नुभयो ।
‘जागृति’को आध्यात्मिक प्रेरणालाई आफ्नो जीवनमा आत्मसात् गरी स्वयंको उत्थानका साथै जगत कल्याणको भावनालाई सुदृढ बनाउने यो पावन सन्त समागम हिजो राति प्रेमभक्ति र श्रद्धाले ओतप्रोत वातावरणमा सम्पन्न भयो । समागमबाट आध्यात्मिक प्रेरणा र मधुर स्मृतिहरू बोकेर श्रद्धालु भक्तजनहरू बिस्तारै-बिस्तारै आफ्ना गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन् ।
सद्गुरु माता सुदीक्षा जी महाराजले विशाल मानव परिवारलाई सम्बोधन गर्दै आफ्ना पावन प्रवचनमा भन्नुभयो कि ‘जागृति’ केवल सत्सङ्ग वा समागमसम्म मात्र सीमित छैन, बरु जीवनको हरेक पलमा निराकार परमात्माको अनुभूतिसहित जिउनुको नाम हो । ब्रह्मज्ञानको वास्तविक सार्थकता तब मात्र हुन्छ, जब हामी यसलाई आफ्ना विचार, व्यवहार र कर्ममा अपनाउँछौँ ।
सद्गुरु माता जीले सकारात्मक सोच, प्रेम, करुणा र विनम्रता अपनाउनुका साथै अरूका कमी-कमजोरीका सट्टा उनीहरूका गुण (विशेषता) हरूलाई हेर्ने प्रेरणा दिनुभयो । सच्चा जागृतिको सुरुवात आफ्नो घर-परिवार र निजी जीवनबाट हुन्छ । सेवा, सुमिरन र सत्सङ्गलाई जीवनको अभिन्न अङ्ग मानेर हरेक परिस्थितिमा परमात्माको अनुभूति बनाइराख्नु नै जीवनलाई सुखमय र आध्यात्मिक रूपमा समृद्ध बनाउनु हो ।
यस अवसरमा सन्त निरंकारी मण्डलका सचिव श्री जोगिन्दर सुखीजा जीले सद्गुरु माता जी एवम् निरंकारी राजपिता जीको पावन दर्शन गरी उहाँहरूको दिव्य आशीर्वादका लागि कृतज्ञता व्यक्त गर्नुभयो । साथै, समस्त साध-सङ्गत तथा समागमको सफल आयोजनामा सहयोग पुर्याउने सम्पूर्ण सरकारी निकायहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले यस वर्ष समागममा विगतका वर्षहरूभन्दा अझ बढी सङ्ख्यामा श्रद्धालुहरूको सहभागिता भएकोमा प्रसन्नता व्यक्त गर्दै भविष्यमा पनि सङ्गतको सङ्ख्यामा निरन्तर वृद्धि भइरहने शुभकामना व्यक्त गर्नुभयो ।
कवि दरबार
यस वर्ष समागमका चारै दिन आयोजित 'कवि दरबार'मा बाल कविहरूका साथै महिला तथा पुरुष कविहरूले उत्साहपूर्वक सहभागीता जनाएका थिए, जुन समागमको एक मुख्य आकर्षणको केन्द्र रह्यो । यस अवसरमा ८० जना कविहरूले ‘जागृति’ विषयमा आधारित आफ्ना स्वरचित कविताहरू हिन्दी, राजस्थानी, पञ्जाबी, अङ्ग्रेजी, हरियाणवी, मुल्तानी, मराठी, भोजपुरी तथा संस्कृत लगायत विभिन्न भाषाहरूमा प्रस्तुत गर्नुभयो । यी भावपूर्ण काव्य प्रस्तुतिहरूले स्रोताहरूलाई मन्त्रमुग्ध बनाए र सबैले यस आयोजनको भरपूर आनन्द लिए ।
यसरी, ७९औँ वार्षिक निरंकारी सन्त समागम सद्गुरुको दिव्य सन्देश, प्रेम, भक्ति र मानवताको भावले ओतप्रोत वातावरणमा सम्पन्न भयो । निःसन्देह, यो पावन सन्त समागम आध्यात्मिक जागृति र सद्भावको अनुपम सङ्गम बन्यो, जसले अनेकतामा एकता र सम्पूर्ण मानवतालाई एउटै सूत्रमा बाँध्ने दिव्य सन्देश दिएको छ ।
समरण रहोस, आजै निरंकारी अनुयायीहरु आ-आफ्नो देश प्रदेश र स्थानहरुमा फर्किन थालेकाछन ।