भारतको खिरी जिल्ला अन्तरगत नेपाली सिमावर्ती क्षेत्रमा रहेको जसनगरमा मोहाना नदीले तिब्र कटान शुरु गरेको छ । मोहनानदी कटानका कारण पछिल्लो दुई दिनमा तीनवटा घर नदीमा समाहित भएका छन् ।
स्थानिय गाउँहरुले लेखापाल फुल सिंह मार्फत कटानमा परेका घरहरूको विवरणलाई तहसील प्रशासनमा पठाएका वताइएको छ । यद्यपि, अझैसम्म आधीकारीक रुपमा सम्वन्धित अधिकारीहरुले सर्वेक्षण नगरेको र आफूहरूलाई कुनै किसिमको लिखित पत्र नदिएको स्थानीय ग्रामीणहरूले आरोप लगाएछन् ।
यस विषयमा ग्राम प्रधानसँग जानकारी लिँदा उनले आफूहरू सधैँ गाउँवासीहरूसँगै रहेको र कुनै पनि सहयोग पुर्याउनु पर्दा तत्कालै उपलब्ध गराउने गरेको बताएका छन् । त्यस्तै, गिरजापुरी ब्यारेजका अधिकारीहरूसँग सम्पर्क गर्दा उनीहरूले ब्यारेजमा बन्द (क्लोजर) को काम भइरहेका कारण मोहाना नदीको जलस्तर घटेको जानकारी दिएका छन् । जलस्तर घट्नेसँगै नदीले तीव्र कटान सुरु गरेको वताइएको छ ।
प्राप्त जानकारी अनुसार मंगलबार दिउँसो स्थानिय राजकुमार र राति जीवन कुमारको घर नदीले बगाएकक छ । यसैगरी बुधबार दिनेश कुमारको घर पनि मोहाना नदीले आफ्नो चपेटामा पारेको थियो ।
मोहनानदीको तिब्र कटानका कारण स्थानिय मानिसहरू आफ्नो ज्यान बचाएर सक्नेजती सामानहरू जोगाउदै आफन्त वा अन्य सुरक्षित स्थानतर्फ जान थालेका छन् । नदीको कटानकै कारण नदिसंग जोडिएका स्थानीय बासिन्दाहरूले आफ्नै घर भत्काउन र सामान हटाउन थालेका छन् ।
कटानबाट पीडित महिलाहरू जमुना देवी, रामकुमारी, रीमा, छोटी, फूलमती, रूपा र सुशीला लगायतले नदीका कारण आफ्नो रातिको निद्रा र दिनको चैन खोसिएको बताएका छन् । दिनरात उनीहरूको नजर नदीमै टिकिरहेको हुन्छ । नदी कटानको त्रासबाट सधैँका लागि छुटकारा पाउन र निर्धक्क भएर जीवनयापन गर्नका लागि पञ्चायत क्षेत्रभित्र आफूहरूलाई बसोबासका लागि जग्गा उपलब्ध गराइदिनुपर्ने उनीहरूको माग रहेको छ ।
यस विषयमा लेखपाल फूल सिंहसँग कुरा गर्दा उनले तीनवटा घर नदीले काटेको पुष्टि गर्दै यसको सूचना तहसील प्रशासनलाई दिइसकेको बताएका छन् । यसैबीच, निघासनका एसडीएम (उप-जिल्ला अधिकारी) ले कटान पीडितहरूलाई छिट्टै नै उचित व्यवस्थापन गरी बसाउने र त्यसका लागि लेखपाललाई घटनास्थलमा खटाइएको जानकारी दिएका छन् ।