हामी यश समयमा यमपञ्चक अर्थात तिहार-दिपावलीको संघारमा छौं । यश पर्वलाई विशेषगरी वैदिक सनातनीहरुले विशेष रुपमा मनाउने गर्दछन् । आऔं आज यश यमपञ्चकका सम्वन्धमा केही कुरा जान्ने र बुझ्ने कोसिस गरौं ।
यम पञ्चक (तिहार) नेपाली संस्कृति, परम्परा र वैदिक सनानत हिन्दू धर्मका अनुसार वर्षभरि मनाइने चाडपर्वहरूमध्ये अत्यन्तै महत्त्वपूर्ण, वैज्ञानिक र सामाजिक सद्भावले भरिपूर्ण चाड हो । सामान्यतया यसलाई तिहार वा दीपावली भनिन्छ, तर शास्त्रीय तथा धार्मिक रूपमा यसलाई यम पञ्चक भन्ने गरिन्छ किनभने यो कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (भाइटीका) सम्मको पाँच दिनको अवधिमा मनाइने गरिन्छ ।
आज हामी यस लेखमा यम पञ्चकको धार्मिक महत्त्व, ऐतिहासिक पृष्ठभूमि, वैज्ञानिक तथा सांस्कृतिक पक्ष र प्रत्येक दिन गरिने विशेष पूजा-आराधनाको बारेमा विस्तृत रूपमा चर्चा गर्ने कोसिस गर्नेछौं ।
यम पञ्चकको परिचय र नामाकरणको सम्बन्ध:-
'यम' शब्दले मृत्युका देवता यमराजलाई जनाउँछ भने 'पञ्चक' भनेको पाँच दिनको समयावधिलाई जनाउने गर्दछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाका यी पाँच दिनमा मृत्युका अधिपति यमराज, उनका दूतहरू (कुकुर, काग, धनकी देवी लक्ष्मी, प्रकृति र मानव जीवनका आधारस्तम्भ गाई र दाजुभाइ-दिदीबहिनीबीचको पवित्र प्रेमको प्रतीक स्वरूप विशेष पूजा र उत्सव मनाइने गरिन्छ ।
यी पाँच दिनमा प्रकृतिका विभिन्न जीवजन्तु, वनस्पति र मानवीय सम्बन्धहरूप्रति कृतज्ञता व्यक्त गर्ने अनौठो परम्परा देखिन्छ, जुन विश्वका अन्य संस्कृतिमा सायदनै पाइने गर्दछ ।
यम पञ्चकका पाँच दिन र तिनको विस्तार सम्वन्धमा:-
पाँच दिनसम्म चल्ने यो पर्वको प्रत्येक दिनको आफ्नै विशिष्ट धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ:
१) काग तिहार:- यश दिन कार्तिक कृष्ण त्रयोदशी तिथि पर्दछ भने कागको पुजा गरिन्छ । यम पञ्चकको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागलाई यमराजको दूतको रूपमा मानेर पूजा गरिन्छ । वैदिक सनातनी हिन्दू मान्यता अनुसार कागले लोकका शुभ-अशुभ समाचारहरू यमराजसम्म पुर्याउने विश्वास गरिन्छ ।
कागलाई समाजको एक प्रकृतिक सन्देशबाहक र फोहोर मैला सफा गर्ने पन्छीका रूपमा पनि हेरिन्छ । यस दिन मानिसहरूले बिहानै उठी घरको छत वा आँगनमा कागलाई विभिन्न मिठा परिकारहरू (रोटी, भात, मिष्ठान्न) खान दिइन्छ । कागलाई भोजन गराउँदा अपमृत्यु (अकाल मृत्यु) हुनबाट बच्न सकिने धार्मिक विश्वास रहिआएको पाइन्छ ।
यसै दिनलाई धन्तेरस वा आयुर्वेदका प्रवर्धक भगवान धनवन्तरी जयन्तीको रूपमा पनि मनाउने गरिन्छ । यस दिन नयाँ भाडाकुँडा, सुन-चाँदी वा धातुका वस्तुहरू किनमेल गर्नु शुभ मानिने कुराको जनविस्वास रहिआएको छ ।
२) कुकुर तिहार:- यश दिन कार्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) तिथि पर्दछ भने
दोस्रो दिनमा पर्ने यो तिहारमा कुकुरको पुजा गरेर मनाइन्छ। कुकुर मानिसको सबैभन्दा विश्वासिलो, इमानदार र पहिलो पाल्तु जनावर हो । त्यसैले पौराणिक मान्यता अनुसार कुकुरलाई यमराजको बाहन तथा पहरेदार मानिएको छ । यमलोकको ढोकाहरुमा दुईवटा चार आँखाहरू भएका कुकुरहरू पहरा दिन्छन् भनिन्छ । कुकुरलाई पूजा गरेर माला लगाइदिने र मीठा खानेकुरा खान दिनाले यमराजको कृपा प्राप्त हुन्छ र मृत्युपछिको यात्रा सहज हुन्छ भन्ने विश्वास गरिन्छ ।
यस दिन बिहानै सूर्योदयअघि शरिरभरी तेल लगाएर नदी, तलाउ वा घरमै ‘नरक स्नान’ गर्ने चलन छ । यसले वर्षभरिका पाप नाश हुने धार्मिक मान्यता रहिआएको छ । यसै रात घरको चारैतिर यमराजलाई खुसीपार्ने उद्देश्यले दियो बालेर (यम दीपदान) गरेर नरकयातनाबाट मुक्ति पाइयोस् भनी प्रार्थना गर्ने परम्परा रही आएको छ ।
३) गाई तिहार र लक्ष्मी पूजा:- यश दिन कार्तिक कृष्ण औंशी (अमावस्या) तिथि पर्दछ भने यम पञ्चकको तेस्रो दिन यो तिहारको सबैभन्दा उज्यालो र महत्त्वपूर्ण दिन मानिन्छ। यस दिन गाई तिहार र लक्ष्मी पूजा एकसाथ मनाइन्छ।
वैदिक सनातनी हिन्दू संस्कृतिमा गाईलाई 'गोमाता' भनिएको छ र यसलाई लक्ष्मीको प्रतीकका रुपमा मानिन्छ। गाईको दूध, गहुँत, गोबर र यसका सबै उत्पादनहरू पवित्र मानिन्छन् । यस दिन गाईलाई नुहाइधुवाइ गरी, सिन्दूर-अक्षता लगाएर, माला पहिराएर मीठा परिकार (रोटी, घाँस) खान दिने चलन रहिआएको छ ।
यो तिथीमा औंसीको अन्धकार रातलाई उज्यालो पार्न घरघरमा दियो, मैनबत्ती र बिजुलीका रंगीन बत्तीहरू बालेर धनकी देवी माता लक्ष्मीको स्वागत गर्ने गरिन्छ। घर सफासुग्थर गरी लक्ष्मीको पाइला कोर्ने र धन-धान्यकी देवी लक्ष्मीले आफ्नो घरमा बास गरून् भनी पूजाआराधना गरिन्छ। यसै दिन व्यापारीहरूले आफ्नो खाता र पसलको विशेष पूजा गर्छन् ।
४) गोरु तिहार, गोवर्द्धन पूजा (म्ह पूजा):-
यश दिन कार्तिक शुक्ल प्रतिपदा तिथि प्रदछ भने गोवर्द्धन पर्वत, गोरु र आत्म-पूजा (म्ह पूजा) गर्नेगरिन्छ । यो तिहारको चौथो दिन प्रदछ भने यसको महत्त्व बहुआयामिक रहेको छ । यस दिनमा मुख्यतया तीनवटा विधिहरू सम्पन्न हुने गर्दछन्:-
(क) गोवर्द्धन पूजा:- द्वापर युगमा भगवान श्रीकृष्णले इन्द्रको घमण्ड चूर पार्न गोवर्द्धन पर्वत अर्थात पहाडलाई कान्छी औंलाले उचालेर गोकुलवासीहरूको रक्षा गर्नुभएको थियो भन्ने मान्यता रहिआएको छ । त्यसैको सम्झनामा गाईको गोबरबाट गोवर्द्धन पर्वतको प्रतिक बनाएर पूजा गरिन्छ र पर्वतको परिक्रमा गरिन्छ ।
(ख) गोरु पूजा र हलितिहार:- कृषियुगमा खेती किसानीको मुख्य आधार गोरु र हलो भएकाले यस दिन कृषकहरूले आफूलाई अन्न उब्जाउन सहयोग गर्ने गोरुलाई पूजा गरी मीठा खानेकुरा खुवाउँछन् भने हलोको पुजापाठ गर्ने गर्दछन् ।
(ग) म्ह पूजा (आत्म पूजा):- विशेष गरी नेवार समुदायमा यस दिन म्ह पूजा (आफ्नै शरीरको पूजा) धूमधामका साथ गर्ने गर्दछन् । आफ्नो शरीर नै मन्दिर हो र आत्मा नै परमात्मा हो भन्ने मान्यता राख्दै आफ्नो आयु, स्वास्थ्य र दीर्घजीवनको कामना गर्दै मण्डला बनाएर पूजा गर्ने गर्दछन् ।
५) पाँचौं दिन: भाई तिहार (भ्रातृ द्वितीया):- यश दिन कार्तिक शुक्ल द्वितीया तिथि पर्दछ भने दिदिबहिनीहरुले माइतीमा आएर वैदिक विधीपुर्वक आफ्ना दाजुभाईहरुको पुजा गर्ने परम्परा रहिआएको पाइन्छ ।
यमपञ्चकको अन्तिम दिन आर्थात तिहारको पाँचौं दिन दिदी-बहिनी र दाजु-भाइबीचको प्रगाढ प्रेम सम्वन्धलाई दर्शाउछ भने यश दिनलाई भाइटीकाको रूपमा मनाउने गरिन्छ । यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको अटुट पारिवारिक सम्बन्ध, स्नेह र दीर्घजीवनको कामना गर्ने दिनको रुपमा समेत लिइन्छ ।
(क) पौराणिक कथा: पौराणिक कथानुसार यमुनाले आफ्ना दाजु यमराजलाई यसै दिन टीका लगाएर दीर्घायुको वरदान मागेकी थिइन् । त्यसै बेलादेखि यो परम्परा चलिआएको विश्वास गरिन्छ ।
(ख) पूजाविधि: यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई लामो आयु, आरोग्य र प्रगतिको कामना गर्दै मखमली, सयपत्री र दुबोको माला लगाइदिन्छन् भने निधारमा सप्तरंगी टीका (रातो, पहेँलो, हरियो, नीलो, सुन्तला रङ्ग आदि), ओखर, कागतिको फूल, शुद्ध सरसी-अलसीको तेल लगाइदिन्छन् । दाजुभाइले पनि दिदीबहिनीहरुलाई उपहार, दक्षिणा र जीवनभर रक्षा गर्ने वचन दिन्छन् । यस दिन दाजुभाइ नभएकाहरूले आफ्ना नजदिक रहेको पोखरी, त्रिबेणी र मन्दिरमा गई टीका लगाउने परम्परा पनि रहेको पाईन्छ ।
यम पञ्चकका सांस्कृतिक र वैज्ञानिक महत्त्वका सम्वन्धमा:-
यम पञ्चक अर्थात तिहार केवल धार्मिक अनुष्ठान मात्र नभई यसमा गहिरो वैज्ञानिक, सामाजिक र वातावरणीय सन्देशहरू लुकेका छन्:
१) पारिस्थितिकीय सन्तुलन (Ecosystem Balance): यस पर्वमा काग, कुकुर, गाई, गोरु, गोवर्द्धन पर्वत र दाजुभाई जस्ता प्रकृति र जीवजन्तुको पूजा गरिनुले मानव र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने गर्दछ । यसले वन्य र पाल्तु अनी सचेत प्राणी दाजुभाई प्रति माया र सद्भाव राख्न प्रेरित गर्छ ।
२) सफाइ र सरसफाइको अभियान: तिहारको समयमा घर-आँगन लिपपोत गर्ने, सफासुग्घर राख्ने र उज्यालो पार्ने चलन रहिआएको छ । वर्षायामपछिको फोहोरलाई सफा गरेर रोगव्याधिबाट बच्न यो परम्पराले ठूलो सहयोग पुर्याएको पाईन्छ ।
३) सामाजिक मेलमिलाप र भाइचारा: देउसी, भैलो खेल्दै गाउँघरमा आपसी भेटघाट गर्ने, छिमेकीहरूसँग खुसी साटासाट गर्ने र परिवारका टाढा-टाढा रहेका सदस्यहरू एकै ठाउँमा जम्मा हुने अवसरका रुपमा यश तिहारलाई लिने गरिन्छ ।
यमपञ्चकको अन्तिम निष्कर्ष:-
सार संक्षेपमा भन्नुपर्दा, यम पञ्चक भनेको जीवन, प्रकृति र सम्बन्धहरूको उत्सव हो । यसले मृत्युका देवता यमराजको भयलाई हटाएर जीवनलाई सकारात्मक, उज्यालो र आनन्दमय बनाउने प्रेरणा दिन्छ । मानिस, पशुपन्छी र प्रकृतिका बीचको यो अनौठो सहअस्तित्वको उत्सवले नेपाली समाजलाई एकता र सद्भावको सुत्रमा सधैं बाँधिरहेको छ र सधै रहने छ ।
आऔं हामी सबै मिलेर यश पर्वमा विकृतीको रुपमा मौलाई रहेका कुरितीहरुलाई प्रसय नदिएर निरुत्साहित गर्दै हाम्रो आफ्नै शास्त्र संगतको नितीगत रुपमा रहेको मौलीकतालाई उजगार गर्दै आगामी पिढीलाई पुर्ख्यौली नासोको रुपमा हस्तान्तरण गर्न प्रयत्नशिल रहौं । अनावश्यक रुपमा रहेको जुवातास, जाँडरक्सीको बढ्दो कदमलाई यश पर्वबाट टाढा राखौं र सुसंस्कृत र समृद्धशाली समाजको विस्तार गर्नतिर तल्लिन रहौं ।