शनिबार, श्रावन १२, २०८१
/
ब्राह्मण (ऋषि) खोजक्रियाको नाम
२९ जेष्ठ २०८१
  हेमन्त माण्डव्य
ब्राह्मण शब्दले फुट नभई जुटको सङ्केत गर्छ । ब्राह्मणहरू त फुटवादी नभई जुटवादी हुन्छन् भन्ने पुराना वैदिक ग्रन्थहरूबाट अनुभव गर्न सकिन्छ तर आदिमकालको ऋषि–मुनि कल्प हुँदै मानवकल्पको पछिल्लो समयमा केही भ्रष्ट ब्राह्मणहरूका कारण तत्कालीन खस साम्राज्यको बेलामा खस शासकहरूले ब्राह्मण ‘फुटाउ र राज गर’ भन्ने अभियान अन्तर्गत काम, दाम, ठाउँ, पद इत्यादि चीज वस्तुहरूबाट थर विभाजन गरी भण्डारी, माण्डव्य, जैसी, जोइसी, पाध्याय, उपाध्याय, बजगाई, घोडासैनी, रिमाल, रेग्मी, अधिकारी, रावल, खत्री, तिमिल्सैना, ढुङ्गाना, देवकोटा, तिवारी, सञ्ज्याल, पूर्विया ब्राह्मण, कुमाई ब्राह्मण लगायत विभिन्न थरिमा वर्गीकरण गरी भेदभाव गराएर शासन गर्ने गरेका थिए । शासक वर्गको समूहमा तत्कालीन अवस्थामा ठकुरी र क्षेत्रीहरू नै थिए तर यिनीहरूले भने वैदिक विवाह गरेका जोसुकै ब्राह्मणबाट जन्मेका सन्तान भए पनि वैदिक ब्राह्मण नै मानेका आधार भेटिन्छन् । 
राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले सन् १८५४ (वि.सं. १९१०) मा मुलुकी ऐन बनाएपछि त्यसमा जैसी ब्राह्मणहरूलाई अपूज्य ब्राह्मण घोषणा गरी सामन्ती कानुन बनाए । अझ त्यसैमा वैदिक पद्धतिद्वारा उपल्ला ब्राह्मण भनी घोषणा गरिएका बीचमा मात्र विवाह गरी जन्मेका सन्तानहरूलाई उपाध्याय भनेर वर्गीकृत गरे । विशेषगरी जङ्गबहादुर राणाले सामन्ती प्रवृत्तिद्वारा आफ्नो स्वार्थपूर्तिका लागि ब्राह्मणहरूलाई तलमाथि गरी एकआपसमा लडाउने र राज गर्ने नीति अवलम्बन गरे । यसै प्रसङ्गमा एक जना विद्वान् दत्तात्रेय दाहाले नेपाली ब्राह्मण एक परिचय भन्ने किताबमा भनेका छन् – ‘‘ब्राह्मणको थर उपाध्याय नभएर पाध्याय मात्रै हो । कालान्तरमा उपद्रयाइँ गरेर जन्मेका ब्राह्मणका सन्तानहरूले पाध्याय नलेखी उपाध्याय लेख्न सुरु गरे र पछि सबैले उपाध्याय लेख्न थाले तर अझै पनि गाउँघरमा भने उपाध्याय नभई पाध्याय लेख्ने र भन्ने गरेको पाइन्छ । यी विद्वानले कुन प्रकारको उपद्रयाइँ गरेका हुन् भन्ने कुराको हकमा भने प्रस्ट्याएका छैनन् ।” 
कसैले आफ्नो स्वार्थपूर्तिका लागि ब्राह्मणहरूलाई एकआपसमा लडाइँ तिनको अस्तित्व नै खतरामा पार्ने कार्य गरेको छर्लङ्ग नै देखिरहेको अवस्थामा ब्राह्मणहरूले एकआपसमा म ठूलो तँ सानो भनी घमण्ड गर्नुमा कुनै तुक हँुदैन ।  बरु सबै ब्राह्मण एकै ठाउँमा उभिएर वैदिक परम्परालाई कसरी जोगाउने भन्नेतिर अगाडि बढे आगामी आउने सन्ततिलाई वैदिक परम्परा अगाडि बढाउन टेवा पुग्ने देखिन्छ । अन्यथा वैदिक परम्परा नै धरापमा पर्नेछ । 
हाम्रा वैदिक ग्रन्थहरूमा पनि कामका आधारमा (ब्रह्म जानन्ति ब्राह्मण्) ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र भइन्छ भनेर स्पष्ट वर्णन गरेको पाइन्छ । हामी त्यसलाई अध्ययन अध्यापन पनि गरिरहेका छौँ अर्कोतिर सानो–ठूलोको भेदभाव पनि गरिरहेका छौँ ।  के यस्तो कार्य ब्राह्मणहरूलाई गर्न सुहाउँछ त ? ब्राह्मणहरूको आपसी लडाइँ झगडाले वैदिक भाषा संस्कृत त लोप हुने संघारमा पुगिसकेको अवस्था छ । आजकालका धेरैजसो म शुद्ध ब्राह्मण हुँ भन्नेहरूलाई संस्कृत भाषा आउँदैन ।  यस्तो अवस्थामा पनि एकआपसमा ठूलो–सानोको झगडाले वैदिक सभ्यतालाई लोप गर्न सघाउँछ । 
नेपालको परिपे्रक्ष्यमा वैदिक परम्परा अनुसारका वैश्य समुदाय छैनन् भनिन्छ । के यो समुदाय लोप भएको हो त ? होइन !  ब्राह्मणहरूको आपसी खिचातानीले गर्दा उनीहरू पनि आपूmलाई विभिन्न थरि भनी परिचित हुन थाले । शुद्र समुदायले आपूmलाई शुद्र भन्न हिच्किचाउन थाले । कैयौँ शुद्र समुदायले त अरूका थरबाट आफूलाई चिनाउन थाले । क्षेत्रीहरूले पनि आफूलाई क्षेत्री समुदाय भन्न लाज मानेर आफूलाई विभिन्न थरबाट परिचित गराउन थाले । उपद्रयाइँ गरी उपाध्याय भएका ब्राह्मणहरूसँग लागेर अरू केही ब्राह्मणहरूका कारण आज वैदिक परम्परालाई जोगाउनुपर्छ भनी अगाडि सरेका ब्राह्मण समुदाय बाध्य भएर पछाडि हटेर आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ । यिनै अव्यावहारिक ब्राह्मणका कारण आज नेपालमा ब्राह्मण समुदायलाई सामन्ती समुदायको रुपमा व्याख्या गर्नेहरूको भीड लागिपरेको छ । ठूला ब्राह्मण हौँ भनी आफुलाई ब्रह्माजीकै दोस्रो रुप ठान्नेहरूले के यो अवस्थाको समाधान गर्न सक्ने आधार छ ? स्वघोषित ब्रह्मारुपीहरूले यो समस्याको समाधान गर्न सक्छन् भन्ने लाग्दैन । किनकि यिनीहरूकै कारणले यो अवस्थाको सिर्जना भएको हो । पुराना ग्रन्थहरूलाई अध्ययन गर्ने हो भने परशुराम, व्यास, विश्वामित्र, च्यवन, बाल्मिकी आदि धुरन्धर ऋषि–मुनिहरू क्षेत्रीय कसरी भए ? कसले कसकी छोरी कसरी विवाह गरे र को कसरी कसबाट जन्मिए सजिलै थाहा पाउन सकिन्छ । यी त खाली आधार मात्रै हुन् ........!
त्यसकारण हामी सबै ऋषिमुनिकै सन्तान हौँ । चाहे त्यो आपूmलाई अमृत खाएको ब्राह्मण भनोस् या तल्लो तहका बनाइएका ब्राह्मण हुन् या क्षेत्री, वैश्य अथवा पानी नचल्ने बनाइएका शुद्र जाति हुन् । ब्राह्मण त चारै जातिका सम्मानयोग्य हुन् । क्षेत्री, वैश्य, शुद्र समुदाय त झनै चारै समुदायका परिपूरक हुन् । वैदिक परम्परामा यी चारै समुदायमा एकको कमी भयो भने वैदिक संस्कार अपूरो भएको मानिन्छ । अनि यो चार समुदायमा को ठूलो को सानो हुन्छ ? यी चारै समुदाय समान हुन् ।  यी वंशाणुगत नभई कामको आधारमा व्यक्ति विभाजित भएका हुन् । 
कार्लमाक्र्सले ल्याएको साम्यवादी सिद्धान्त हाम्रा वंश प्रवर्तकहरूले उहिले नै वैदिक परम्परामा त्यो स्वरुप ल्याइसकेका थिए भन्न सकिन्छ । सायद पछि कार्लमाक्र्सले यही कुराको अध्ययन गरी माक्र्सवादको सुरु गरेका हुन् कि ? यसको जल्दोबल्दो प्रमाण पछिल्ला समयमा खस महासाम्राज्य अन्तर्गत अछाम, डोटी, दैलेख, जुम्ला लगायतका क्षेत्रमा बाह्रथानी, दसथानी, एकथानी, बाह्रसत्ताइसी थानी (थरी)हरूले आ–आफ्नो कामलाई समान रुपले बाँडेर निरन्तरता दिएको कुरालाई लिन सकिन्छ । 
वैदिक परम्परामा कामको आधारमा पद विभाजन गरिएको पाइन्छ भने सबैको सम्मान बराबर रहेको भेटिन्छ अर्थात् ब्राह्मण भन्नाले तत्कालीन समयका विद्वान् वैज्ञानिक, देशका लागि सधैँ नयाँ–नयाँ योजना बनाउने कार्यमा तल्लीन भइरहने ब्रह्माण्डको बारेमा ज्ञान प्राप्त भएका, भूत, भविष्य, वर्तमानका बारेमा जान्न सक्ने ‘ब्रह्म जानन्ति ब्राह्मण्’को ज्ञाता हो । क्षेत्री भन्नाले देश रक्षार्थ लड्ने, शत्रु परास्त गर्ने निस्वार्थ रुपमा सधैँ देश र जनताको लागि तानाशाह नभई देशको सबल नेतृत्व गरिरहने हो ।  वैश्य भन्नाले सधैँ आफ्नो देशलाई उन्नतितर्फ अगाडि बढाउन प्रयत्नशील भई देश र जनताको आवश्यकता पूर्तिका लागि अग्रसर भइरहने हो भने शुद्र भन्नाले देश र जनताका लागि आवश्यक पर्ने विभिन्न सीपमूलक काम गर्न सक्ने, देश र जनता दुःखमा परेका बेला आफ्नो स्वार्थभन्दा देश र जनताको स्वार्थ ठूलो मानेर अग्रसर भई कार्य गर्ने हो ।  
हाम्रा वैदिक परम्पराले ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र यी चार समुदायलाई यही तरिकाबाट व्याख्या गरेको पाइन्छ भने को ठूलो, को सानो, को छुत, को अछूत, को अमृत खाएको ब्राह्मण र को अमृत छर्केको ब्राह्मण ? त्यसैले हामी वैदिक धर्मावलम्बीहरूलाई समय–समयमा विभिन्न तत्वले (त्यो आन्तरिक र बाह्य पनि) विभिन्न तरिकाबाट आपसमा लडाउने र फुटाउने कार्य गरी मोजमस्ती गर्ने गरेका कारण तल र माथि उच र नीचको थालनी भएको हो । अब मानव मात्रको कल्याणका लागि विभिन्न सोच र विचार अगाडि आइरहेको अवस्था छ । वैदिक परम्परालाई आत्मसात् गर्दै कसैले वैदिक कर्म जान्छ भने के उसले जानेको सिकेको गुणलाई उजागार गर्न नपाउने ? यस्तो कहाँको नीति हुन्छ र ? संसारमा सिक्न पाउने सिकाउन पाउने र गर्न गराउन पाउने हरेक मानवलाई स्वतन्त्रता त आदिकालदेखि नै रहेको पाइन्छ भने यो नीतिगत कुरामा पनि पर्छ । त्यसैले अब वैदिक परम्परालाई अगाडि बढाउनका लागि तँ सानो म ठूलो तल्लो–उपल्लो, छुत–अछूत भन्दा पनि हामी सबै मानव हौँ भन्ने पुर्खाको नीतिलाई अवलम्बन गर्न वैदिक संस्कारमा उल्लेख भएअनुसार वंश परम्परा नभई कर्म परम्पराबाट अगाडि बढ्नुपर्ने आवश्यकता भइसकेको छ । हामीले अब हाम्रा पुर्खाको नीति अवलम्बन गर्ने कि पछिका केही व्यक्तिहरूले आफ्नो स्वार्थसिद्धिका लागि बनाएका नीतिमा लाग्ने ? 
अहिले नै सही ढङ्गले सोचिएन र अहिलेकै जस्तो परम्परा कायम राख्ने हो भने केही समयपछि यो संसारबाट डाइनोसर लोप भएजस्तै ब्राह्मण समुदाय पनि लोप हुनेछ ।  यद्यपि हामी भनिरहेका छौँ– “ब्राह्मण (ऋषि) कुनै जाति या सम्प्रदाय नभई यो त एउटा खोजक्रियाको नाम होे, यो एउटा पदवी हो” । यसलाई हामीले किन वंशानुगतमा ढालेर आदिमकालमा हाम्रा पुर्खाले ठूलो लगानी गरी पाएको पदवीको बदनाम गर्दैछौँ ?
अहिले विशेषगरी नेपालमा ब्राह्मणहरूलाई नै बढी समस्याको जड मानिएको छ किन ? यसको बारेमा अब ब्राह्मणहरूले सोच्नुपर्ने बेला आएको छ ।  ब्राह्मणहरूले त्यस्तो के अपराध गरेका छन् ? के केही छद्मरुपी ब्राह्मण भनाउँदाहरूले सामन्ती प्रवृत्तिमार्फत समाजलाई धमिल्याए भन्दैमा सबै ब्राह्मणहरूलाई दोषी मान्न मिल्छ ? कदापि मिल्दैन । त्यसैले समयमा नै ब्राह्मणहरूले आफूमाथि लागेको आरोपको बारेमा जानकारी लिन र त्यसलाई समाधान गर्न सकेनन् भने निश्चित छ ब्राह्मण समुदाय अवश्य धरापमा पर्नेछ । के यस्तो अवस्थामा पनि अमृत खुवाएको र छर्केको ब्राह्मण भन्दै चुप लागेर बस्ने ? होइन भने यो यानको युगमा ब्राह्मण हुँ भन्नेहरूले परिवर्तन हुनै पर्छ । वैदिक परम्परालाई समय र परिस्थिति अनुसार अगाडि बढाउनै पर्छ । अनिमात्र ब्राह्मण हँु भन्न सुहाउनेछ । 
पुर्खाहरूले खोज गरेर पाएको ब्राह्मण (ऋषि) पदको जगेर्ना गर्न समय अनुसार समयको पछि लाग्नै पर्छ । किनभने हाम्रा वैदिक पुर्खाहरूले पनि समय–समयमा आफूलाई परिवर्तित रुपमा ढालेका र समय अनुसार वैदिक ग्रन्थहरूको रचना गरेका प्रमाण छन् । ब्रह्मत्वको सोच सबैमा हुन जरुरी छ चाहे त्यो ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र किन नहोस । जब ब्रह्मत्व हुँदैन भने ब्राह्मण (ऋषि) हुनसक्दैन । समाजलाई कुसंस्कारमा फस्नबाट जोगाउनका लागि ब्रह्मत्वको पालना गर्दै वंशाणुगत नभई कर्माणुगत (कर्म अनुसार) तरिकाले अगाडि बढ्नै पर्छ । जसले खोज र अनुसन्धान गरी समाजको उन्नतिका लागि आफ्नो क्रियामार्फत कार्य गर्छन् तिनीहरू नै वास्तविक ब्राह्मण (ऋषि) कहलाउँछन् । (गोरखापत्र दैनिकबाट)
माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल