भारतको उत्तराखंडका मुख्यमन्त्री श्री पुष्कर सिंह धामीले नेपालको रसुवा क्षेत्रस्थित भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले यस प्राकृतिक विपद्मा भएको जनधनको क्षति अत्यन्तै दुःखद एवं चिन्ताजनक रहेको बताउनुभयो । यो कठिन समयमा उत्तराखंडका जनता र राज्य सरकारको समवेदना नेपालका प्रभावित परिवारहरूप्रति रहेको छ ।
मुख्यमन्त्री धामीले दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै प्रभावित सबै व्यक्तिको सकुशलताको लागि प्रार्थना गर्नुभएको छ ।
उहाँले भन्नुभयो, "भारत र नेपालका सम्बन्धहरू केवल दुई छिमेकी देशका सम्बन्ध मात्र होइनन्, यी साझा संस्कृति, परम्परा, आस्था, सामाजिक सरोकार र आत्मीयतासँग जोडिएका छन् ।" उत्तराखंड र नेपालबीच विशेष गरी शताब्दीऔँ पुरानो 'बेटी-रोटी' को सम्बन्ध रहिआएको छ । दुवै क्षेत्रका मानिसहरूबीच पारिवारिक सम्बन्धका साथसाथै सामाजिक, सांस्कृतिक र व्यापारिक सम्बन्धहरू पनि निरन्तर मजबुत रहँदै आएका छन् ।
मुख्यमन्त्रीले कुमाउँ क्षेत्रको नेपालसँग विशेष र आत्मीय सम्बन्ध रहेको बताउनुभयो । पिथौरागढ र चम्पावतलगायत सीमावर्ती क्षेत्रका जनताको नेपालसँग ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहिआएको छ । यस्तो अवस्थामा नेपालमा आएको विपद्को दुःख उत्तराखंडका जनताका लागि पनि आफ्नै परिवारको कोही सदस्य संकटमा परे जत्तिकै महसुस भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री धामीले "नेपालको पीडा उत्तराखंडको पीडा हो र संकटको यस घडीमा उत्तराखंडका जनता आफ्ना नेपाली दाजुभाइ-दिदीबहिनीहरूसँग पूर्ण संवेदनशीलता र आत्मीयताका साथ उभिएका छन् ।" विपद्को यस कठिन समयमा राहत तथा उद्धार कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयम्सेवक र स्थानीय नागरिकहरूको प्रयास सराहनीय रहेको उहाँले बताउनुभयो । राज्य सरकारले परिस्थितिलाई नजिकबाट नियालिरहेको र आवश्यकता परेमा हर सम्भव सहयोग गर्न तत्पर रहेको छ ।
मुख्यमन्त्रीले हिमालय क्षेत्रको भौगोलिक अवस्थाले गर्दा दुवै देश प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो । नेपाल सरकार र त्यहाँको प्रशासनको नेतृत्वमा राहत तथा उद्धार कार्य प्रभावकारी ढङ्गले सञ्चालन हुने र प्रभावित मानिसहरूले शीघ्र राहत पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले उत्तराखंडका समस्त जनताको तर्फबाट नेपालका शोकसंतप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै, प्रभावित मानिसहरूको सुरक्षा, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा नेपालमा छिटो भन्दा छिटो जनजीवन सामान्य बनोस भन्ने कामना पनि गर्नुभएको छ ।