भारतको लखीमपुर खिरी जिल्लाअन्तर्गत गौरीफन्टामा भारतीय प्रहरी र सीमा सुरक्षा बल (SSB) को संयुक्त टोलीले लागुऔषध खैरो हिरोइन सहित दुई जना नेपाली युवालाई पक्राउ गरेको छ ।
भारत–नेपाल सीमामा सुरक्षा व्यवस्था कडा पार्ने र लागुऔषध तस्करी नियन्त्रण गर्ने उद्देश्यले चलाइएको 'कवच अभियान' अन्तर्गत गौरीफन्टा प्रहरी र ३९औँ बाहिनी एसएसबीको संयुक्त टोलीले यो सफलता हासिल गरेको हो ।
टोलीले डिगनिया तिराहा नजिकबाट दुई जना नेपाली तस्करलाई ४.६२ ग्राम अवैध लागुऔषध खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ ।
भारतीय प्रहरी सूत्रबाट प्राप्त जानकारी अनुसार, एसपी डा. ख्याति गर्गको निर्देशनमा गौरीफन्टा–पलिया मार्गमा जाँच गर्ने क्रममा प्रहरी र एसएसबी (बी कम्पनी बनकटी) को संयुक्त टोलीले दुई जना शङ्कास्पद युवकलाई रोकेको थियो । खानतलासी गर्दा उनीहरूको साथबाट खैरो हिरोइन सहित बरामद भएको हो ।
पक्राउ पर्नेहरुमा कैलाली जिल्लाका मानबहादुर साउद र बैतडी जिल्लाका रवि रैकाल रहेको वताइएको छ । प्रहरीले मानबहादुरको साथबाट ३.३० ग्राम र रवि रैकालको साथबाट १.३२ ग्राम खैरो इरोइन सहित बरामद गरेको छ ।
गौरीफन्टा प्रहरीले दुवै अभियुक्तविरुद्ध एनडीपीएस ऐन (NDPS Act) को सम्बन्धित दफाअनुसार मुद्दा दर्ता गरी थप कानुनी कारबाही अगाडि बढाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट भारतको खिरी जिल्लाको पलिया क्षेत्रमा अवैध ब्राउन सुगरको ठुलो कारोबार हुने गरेको खुल्न आएको छ । नेपालका कैलाली, कञ्चनपुर र बर्दिया जिल्लाका तस्करहरूले लागुऔषध खैरो हिरोईनको तस्करी गर्दै आएको स्रोतको दावी रहेको छ । भारतीय प्रहरी स्रोतका अनुसार गैरकानूनी कार्यमा भारतीय नागरिकहरू धेरै ठुलो मात्रामा संलग्न रहेको समेत वताइएको छ ।