छठ पर्व, जसलाई लोकभाषामा ‘छठी पूजा’ वा ‘सूर्य षष्ठी’ भन्ने गरिन्छ अर्थात यो केवल एउटा धार्मिक अनुष्ठान मात्र होइन, बल्कि यो मानव र प्रकृतिबीचको अटूट सम्बन्ध, सामाजिक समरसता, वैज्ञानिक जीवनशैली र अगाध लोकआस्थाको एक महाउत्सव हो । विशेष गरी नेपालको पुर्वि तराई मधेश क्षेत्र, भारतको पूर्वी उत्तर प्रदेश, बिहार र झारखण्डमा यो पर्व अत्यन्त श्रद्धा, उल्लास र अनुशासनका साथ मनाइन्छ । समयसँगै यो पर्व देश-विदेशका ती सबै कुनाहरूमा पुगिसकेको छ जहाँ यस संस्कृतिसँग जोडिएका मानिसहरू बसोबास गर्छन् । त्यसैले छठ पर्वको यथार्थ बुझ्नकालागी यसका ऐतिहासिक, पौराणिक, सामाजिक, वैज्ञानिक र पर्यावरणीय पक्षहरूको अध्यन सहित गहिराइमा पुग्न अती आवश्यक हुनजान्छ । त्यसैले आऔं आज यही छठ पर्वको बारेमा यहाँ जान्ने बुझ्ने प्रयत्न गरौं ।
ऐतिहासिक र पौराणिक पृष्ठभूमि
छठ पर्वको इतिहाँस अत्यन्त प्राचीन छ । यसको उल्लेख ऋग्वेद, महाभारत, रामायण र पुराणहरूमा कुनै न कुनै रूपमा अध्यन गर्न पाइन्छ । ऋग्वेदमा सूर्यको उपासनाका मन्त्रहरूको विशेष महत्व छ, जुन यस कुराको प्रमाण हो कि वैदिक कालबाट नै आर्य संस्कृतिमा सूर्यलाई जीवनको आधार मानेर पूजा गरिँदै आएको छ ।
पौराणिक मान्यताहरूका अनुसार, यस पर्वको आरम्भसँग जोडिएका थुप्रै महत्वपूर्ण कथाहरु प्रचलित रहेकाछन्:
क) रामायण काल: मान्यता छ कि लंका विजयपश्चात् जब भगवान श्रीराम र माता सीता अयोध्या फर्किएका थीए, तब रामराज्यको स्थापनासँगै उनीहरूले कार्तिक शुक्ल षष्ठीका दिन सूर्य देवको आराधना गरेका थिए र उपवास बसेर छठ पूजाको अनुष्ठान गरेका थिए भन्ने उल्लेख गरेको पाईन्छ ।
ख) महाभारत काल: महाभारतमा सूर्यपुत्र कर्णको विशेष स्थान रहेको छ । कर्ण प्रतिदिन बिहान आफ्नो कम्मरसम्म जलमा उभिएर सूर्य देवलाई अर्घ्य दिन्थे र दान पुन्य गर्थे । यसबाहेक, जब पाण्डवहरू आफ्नो सारा राज्य जुवामा हारेर जंगलहरुमा भौंतारिरहेका थिए, तब द्रौपदीले आफ्ना परिवारको कल्याण र गुमेको राज्यको पुनप्राप्तिका लागि छठको कठिन व्रत गरेकी थिइन् ।
ग) राजा प्रियव्रतको कथा: अर्को एक प्रसिद्ध पौराणिक कथा अनुसार, निःसंतान राजा प्रियव्रत र उनकी रानी मालिनीले महर्षि कश्यपको निर्देशनमा पुत्रेष्टि यज्ञ गरे, तर उनीहरूले मृत पुत्र प्राप्त गरेका थिए भन्ने कुरा अध्यन गर्न पाईन्छ । छोराको यस्तो अवस्था देखेर पुत्र बियोगमा राजा मसानघाटमा गएर आफ्नो प्राण त्याग गर्न लाग्दै थिए, तब ब्रह्माकी मानस पुत्री देवसेना (जसलाई प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएका कारण ‘षष्ठी’ वा ‘छठी मैयाँ’ भनिन्छ) प्रकट भईन् र उनले आफ्नो पूजा गर्ने आदेश दिइन् । राजाले कार्तिक शुक्ल षष्ठीका दिन विधिपूर्वक व्रत गरे, जसको फलस्वरूप उनीहरूले स्वस्थ पुत्र प्राप्त गर्न सफल भए । त्यसैबेलादेखि सन्तान सुख, दीर्घायु र परिवारको समृद्धिका लागि छठी मैयाँ र सूर्य देवको आराधना गर्ने परम्पराको आरम्भ भयो ।
चार दिने महाअनुष्ठानको वास्तविक स्वरूप
छठ पर्व चार दिनसम्म चल्ने एक अत्यन्त कठोर, अनुशासनयुक्त र सात्विक अनुष्ठान हो, जसलाई ‘महापर्व’ भनिएको छ। यस व्रतमा तन, मन र वातावरणको शुद्धतामा सर्वाधिक जोड दिने गरिन्छ ।
क) पहिलो दिन:- कार्तिक शुक्ल चतुर्थी, यस दिनबाट छठको औपचारिक आरम्भ हुन्छ, जसलाई नहाय-खायपनि भनिन्छ ।
यसदिन व्रत (जसलाई ‘परवैतिन’ पनि भनिन्छ) बिहान नदी, पोखरी वा घरमा शुद्ध जलले नुहाउँने गरिन्छ । त्यसपछि घरको विशेष सरसफाइ गरिन्छ । खानामा शुद्ध घिउमा बनेको फर्सी-लौकाको तरकारी, चनाको दाल र बिना उमालेको चामल ग्रहण गरिन्छ । फर्सी र चनाको दालका वैज्ञानिक महत्व रहेकाछन्, जसले शरीरलाई आगामी ३६ घण्टाको निर्जला उपवासका लागि सक्षम र बलियो आधार तयार गर्दछन् ।
ख) दोस्रो दिन:- कार्तिक शुक्ल पञ्चमी, यस दिन व्रतालुहरू दिनभर उपवास बस्छन् । जसलाई मधेशतिर खरना वा लोहण्डा पनि भन्ने गरिन्छ । सूर्योस्तपछि माटोको नयाँ चुलोमा आँपको काठको आगो बालेर त्यसमा ६० दिनमा पाक्ने धान (साठाधान)को चामल र गाईको शुद्ध दुधबाट खीर तथा शुद्ध गाईको घिउबाट बनेको रोटी र गुडको प्रसादरुपी परिकार बनाएर सर्वप्रथम छठी मियाँलाई यसको भोग लगाइन्छ । त्यसपछि मात्र व्रतालुहरुले विधीपुर्वक यसलाई ग्रहण गर्छन् । त्यसपश्चात् मात्र परिवारका अन्य सदस्यहरु र छरछिमेकीहरू समेत यो प्रसादलाई ग्रहण गर्छन् । बिधिपुर्वक बनाईएको प्रसाद ग्रहण गरेसँगै व्रतालुको लगभग ३६ घण्टाको कठिन निर्जला उपवास आरम्भ हुनेगर्दछ ।
ग) तेस्रो दिन:- कार्तिक शुक्ल षष्ठी, यो छठ पर्वको सबैभन्दा महत्वपूर्ण दिन हो भने यसलाई सन्ध्या अर्घ पनि भनिन्छ । यसदिन दिनभर घरका महिला र पुरुषहरू मिलेर ठेकुवा (गहुँको पिठो, गुड र घिउबाट बनेको पारंपरिक पकवान), चामलको लड्डु (कसार) र विभिन्न मौसमी फलफूल तथा तरकारीहरूलाई बाँसको नाङ्लो र ढकिया (टोकरी) मा सजाउँछन् । साँझको समयमा पूरा परिवार पारंपरिक लोकगीत गाउँदै नदी वा पोखरीको किनारतर्फ प्रस्थान गर्छन् । व्रतालुहरू पानीमा उभिएर अस्ताउँदो (डुब्दै गरेको) सूर्यलाई दूध र जल अर्पण गर्नेगर्दछन् ।
घ) चौथो दिन:- कार्तिक शुक्ल सप्तमी चौथो दिन सूर्योदय हुनुभन्दा अगावै नै श्रद्धालुहरू पुनः घाटमा जम्मा हुन्छन् । यसलाई उषा अर्घ र पारण पनि भन्ने गरिन्छ । यश बेला व्रतालुहरु जलमा उभिएर उदाउँदो (उग्दै गरेको) सूर्यको पहिलो किरणलाई अर्घ दिन्छन् । त्यसपछि घाटमै छठी मैयाँको कथा सुन्छन्, एक-अर्कालाई सिन्दूर लगाउछन् र प्रसाद वितरण गर्छन् । घर फर्किएर व्रतालुहरू अदुवा, गुड वा सरबत खाएर आफ्नो व्रत पूरा गर्छन्, जसलाई ‘पारण’ अर्थात समापन भनिन्छ ।
सामाजिक समरसता र भेदभाव-मुक्त संस्कृतिको मिसाल
छठ पर्वको सबैभन्दा ठूलो यथार्थ यसको सामाजिक संरचना र समानताको भावना हो । आजको युगमा जहाँ समाज जाति, वर्ग, उच्च-नीच र आडम्बरमा विभाजित देखिन्छ, त्यहीं छठ पर्वले यी सबै पर्खालहरूलाई ध्वस्त पारेको पाईन्छ ।
क) पुरोहित-मुक्त पूजा: छठ विश्वका ती विरलै धार्मिक अनुष्ठानहरूमध्ये एक हो, जसमा कुनै पुरोहित, पण्डित वा बिचौलियाको आवश्यकता पर्दैन । भक्त र भगवान (सूर्य) बीच सीधा संवाद हुन्छ । व्रतालुहरू आफैं अर्घ दिन्छन् र आफ्नो आस्था प्रकट गर्ने गर्दछन् ।
ख) प्रत्येक वर्गको अनिवार्य सहभागिता: यो पर्वको सामग्री समाजका हरेक वर्गको सहयोगबिना पूरा हुन सक्दैन । पूजाका लागि बाँसको नाङ्लो र ढकीया बनाउने डोम वा महली समुदाय, माटोको दियो र चुलो बनाउने कुम्हार, तथा फलफूल र अन्न उब्जाउने किसान ! यी सबैको भूमिका अत्यन्त पूजनीय मानिन्छ । एक समृद्ध व्यक्तिले पनि जबसम्म यी सीमान्तकृत मानिएका कालीगढहरूको हातबाट बनेको नाङ्लो र माटोको भाँडा प्रयोग गर्दैन, तबसम्म उसको पूजा अधुरो मानिन्छ ।
ग) घाटमा समानता: नदी वा पोखरीको घाटमा धनी र गरिब, रोजगारदाता र श्रमीक, सबै एउटै लहरमा रहेर सूर्यलाई अर्घ दिन्छन् । त्यहाँ न कुनै भीआईपी संस्कृति चल्छ र न त कसैको पहिरन वा हैसियतको प्रदर्शन नै हुन्छ । नदी, तलाउ रसरोबरमा बनेका अस्थायी घाटहरु सबैका लागि समान हुन्छन् ।
घ) मातृसत्तात्मक र नारी-सम्मानको प्रतीक: तर पुरुषहरू पनि यो व्रत बस्छन्, तथापि मुख्य रूपले यो पर्व महिलाहरूको अगाध इच्छाशक्ति र नेतृत्वको प्रतीक मानिन्छ । घरका सबै पुरुष सदस्यहरु, श्रीमान, छोरा, भाईहरु टाउकोमा भारी ढकीया बोकेर नाङ्गो खुट्टाले हिडदै घाटसम्म लैजान्छन् र व्रतालु महिलाहरुको पछी-पछी हिँड्छन् । यो दृश्य नेपाली तथा भारतीय समाजमा नारी शक्तिप्रतिको सर्वोच्च सम्मानलाई झल्काउने गर्दछ ।
उदाउँदो र अस्ताउँदो सूर्यको आराधनाको जीवन-दर्शन
संसारका अधिकांश संस्कृतिहरूमा केवल उदाउँदो सूर्यलाई मात्र नमस्कार गरिन्छ, किनकि उदयलाई शक्ति, सफलता र आरम्भको प्रतीक मानिन्छ । तर छठ पर्व एकमात्र यस्तो अनुपम पर्व हो, जहाँ पहिले अस्ताउँदो सूर्यलाई र त्यसपछि उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।
यसको पछाडि एउटा गहिरो जीवन-दर्शन लुकेको छ । यसले समाजलाई यो सन्देश दिन्छ कि जीवनमा जो अस्तासतर्फ जाँदैछ, अर्थात् जो वृद्ध भइसकेको छ, कमजोर छ, वा आफ्नो जीवनको अन्तिम चरणमा छ, उसको सम्मान र हेरचाह त्यतिकै श्रद्धाका साथ गरिनुपर्दछ ! जति कि कुनै उदयमान युवा वा शक्तिशाली व्यक्तिको हुन्छ । साथै, यसले प्रकृतिको यो शाश्वत नियमलाई पनि स्वीकार गर्छ कि हरेक अस्तपछि उदय निश्चित हुन्छ । निराशा र अन्धकारपछि आशाको नयाँ बिहानी अवश्य आउँछ ।
वैज्ञानिक र पर्यावरणीय दृष्टिकोण
छठ पर्व केवल भावनात्मक आस्था मात्र होइन, बल्कि गहिरो वैज्ञानिक बुझाइ र पर्यावरण संरक्षणको पनि दस्तावेज हो ।
क) सूर्यका किरणहरूको औषधीय प्रभाव: कार्तिक महिनामा मौसम परिवर्तन भइरहेको हुन्छ, जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) कमजोर हुन थाल्दछ । बिहान र बेलुकीको समयमा सूर्यका किरणहरू छड्के हुन्छन्, जसमा पराबैंगनी (UV) किरणहरूको मात्रा संतुलित हुन्छ । पानीमा उभिएर अर्घ दिँदा सूर्यका किरणहरू पानीबाट परावर्तित भएर व्रतालुहरुको शरीरमा पर्दछन्, जसलेगर्दा शरीरलाई पर्याप्त मात्रामा भिटामिन-डी प्राप्त हुन्छ र छाला तथा आँखासम्बन्धी रोगहरूबाट बचाउ हुनजान्छ ।
ख) नदी र जलाशयहरूको सरसफाइ: छठ पर्व आउनुभन्दा केही दिन अगाडि नै गाउँ-घर तथा सहर-बजारका गल्ली, सडक र विशेष गरी नदी, पोखरी तथा तलाउहरूको सामूहिक सरसफाइ सुरु हुने गर्दछ । मानिसहरू श्रमदान गरेर जलस्रोतहरूलाई सफा र शुन्दर बनाउने गर्दछन् । यो पर्वले हामीलाई जल संरक्षण र स्वच्छताको व्यावहारिक पाठ पढाउने गर्दछ ।
ग) पूर्ण रूपले जैविक र पर्यावरण-मैत्री सामग्री: छठ पूजामा कुनै पनि किसिमको प्लास्टिक वा रासायनिक सामग्रीको प्रयोग वर्जित गरिएको पाइन्छ । पूजामा प्रयोग हुने नाङ्लो, ढकीया-छाप्रो बाँसबाट बनाइएका हुन्छन्; दियो माटोबाट बनाइएको हुन्छ; प्रसादको रूपमा स्थानीय र मौसमी फलफूल जस्तै, केरा, नरिवल, उखु, कागती, सुथनी, बेसार, अदुवा र सिँघाडा चढाइन्छन् । यी सबै वस्तुहरू पूर्ण रूपले जैविक (बायोडिग्रेडेबल) हुन् र यिनीहरुले प्रकृतिलाई कुनै हानी पुर्याउँदैनन् ।
घ) मनोवैज्ञानिक र शारीरिक शुद्धता: ३६ घण्टाको निर्जला उपवास, सात्विक भोजन र लोकगीतहरूको मधुर ध्वनिले शरीरका विकारयुक्त तत्वहरू (टॉक्सिन्स) लाई बाहिर निकाल्न (डिटक्सिफिकेसन) र मानसिक एकाग्रता बढाउन सहयोग गर्नेगर्दछ ।
छठपर्वको आत्मा र सांस्कृतिक धरोहर
छठ पर्वको वास्तविकता यसमा गाईने लोकगीतहरू बिना अधुरो मानिन्छ । लोकगायकहरूको स्वरका साथै गाउँघरका महिलाहरूद्वारा सामूहिक रूपमा गाइने पारंपरिक गीतहरू यस पर्वमा तेजोतापमा प्राण भर्ने गर्दछन् ।
यी गीतहरूमा कुनै शास्त्रीय जटिलता हुँदैन, बल्कि आम जनमानसको सुख-दुःख, पर्यावरणको चिन्ता, सामाजिक विकृतिहरूमाथिको कटाक्ष र छठी मैयाँप्रतिको आत्मीय संवाद हुन्छ । उदाहरणका लागि, "काँच ही बाँस के बहँगिया, बहँगी लचकत जाए..." गीतमा बाँसको टोकरी लचकिने र बटुवासँग सोध्ने कुराको जीवंत चित्रण गरेको पाइन्छ, भने "केरवा जे फरेला घवद से, ओह पर सुगा मेड़राय..." गीतमा चराचुरुङ्गी (सुगा)हरूप्रतिको करूणा र प्रकृतिको सह-अस्तित्वको भावना झल्किएको पाईन्छ । यी गीतहरूमा छठी मैयाँलाई कुनै कठोर देवताको रूपमा होइन, बल्कि परिवारकी एक स्नेही अभिभावकको रूपमा हेरिने गरिन्छ ।
आधुनिक युगका चुनौती र यसको रक्षा
समयसँगै छठ पर्वको स्वरूप अत्यन्त भव्य र विश्वव्यापी भइरहेको छ । काठमाडौंको रानीपोखरी, बागमती, कोशी, नारायणी, राप्ती, कर्णाली, मोहना र महाकाली भारतको पटनाका गंगा घाटहरूसम्म, र दिल्ली-मुम्बईदेखि न्यूयोर्क र लन्डनसम्म छठको रौनकता देखिन्छ । यद्यपि, आधुनिकताको यस दौडमा केही चुनौतीहरू पनि देखा परीरहेकाछन् ।
कतै-कतै सादगीको स्थानमा देखावटीपन, महँगो सजावट र चर्को स्वर भएका डीजे (DJ) हरूले पारंपरिक शान्त लोकगीतहरूको स्थान लिने प्रयास गरीरहेका छन् । यसबाहेक, सहरी क्षेत्रहरूमा नदीहरूको बढ्दो प्रदूषणका कारण सफा पानीमा उभिएर अर्घ दिनु पनि एक गम्भीर समस्या बनेको पाईन्छ । छठ पर्वको वास्तविक आत्मा यसको सादगी, पवित्रता, श्रमदान र प्रकृतिप्रति कृतज्ञतामा निहित रहेको छ । यदि हामीले यसलाई बाहिरी देखावटीपनबाट बचाएर यसको मौलिकतालाई जोगाइराख्न सक्यौं भने मात्र यसको सार्थकता कायम रहन सक्छ । नत्र भने यसको अस्तित्वमा नकारात्मक असपर्दै भविष्यमा यो पर्व नामको मात्र रहन सक्छ ।
निष्कर्ष:
छठ पर्व केवल सूर्य र षष्ठी देवीको पूजा गर्ने दिन मात्र होइन, बल्कि यो मानिसलाई आफ्ना जरा, आफ्नै माटो, आफ्नै समाज र प्रकृतिसँग जोड्ने एक जीवंत सेतु हो । यसले हामीलाई सिकाउँछ कि कुनै पनि भेदभावबिना, अत्यन्त सादगी र अनुशासनका साथ प्रकृतिकाप्रति कृतज्ञता व्यक्त गर्नु नै सबैभन्दा ठूलो धर्म हो ।यही नै यसको शाश्वत र सुन्दर यथार्थ हो । आऔं हामिि सबै मिलेर यसको संरक्षण र सम्वर्द्धन गरौं र आगामी पिढीलाई वास्तविक संस्कार र संस्कृतीलाई हस्तान्तरण गरौं । (जय छठी मैयाँ)