भारत-नेपाल सीमावर्ती क्षेत्रमा कुस्ती(दंगल)खेलको भव्य आयोजना गरिएको छ । युवा कमिटी चिमनटाँडाद्वारा गुलरिया पत्थर शाह क्षेत्रस्थित गाउँ चिमनटाँडामा यमपञ्चकको पावन अवसरमा भव्य कुस्ती (दंगल) प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त प्रतियोगिता अन्तर्गत भारत-नेपालका सीमावर्ती क्षेत्रका विभिन्न जिल्लाहरुबाट आएका धुरन्धर पहलवानहरूले पारम्परिक कुस्तीमा स्थानीय पहलवानहरूसँग प्रतिस्पर्धा गर्दै एकसेएक दाउपेच प्रदर्शन गरी दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।
गोवर्धन पूजाको विशेष पूजाजाका साथ सुरु भएको यस दंगलमा मुख्य अतिथिमा समाजसेवी कृष्ण सिंह ‘बाबु भैया’को उपस्थिति रहेको थियो । मैदानमा उत्रिएका पहलवानहरूले आफ्नो शक्ति, फुर्ति र अखाडाको उत्कृष्ट प्रविधिको गतिलो प्रदर्शन गरेका ततिए । अखाडामा पहलवानहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो, जसमा उपस्थित दर्शकहरूले ताली र नाराबाजी गर्दै पहलवानहरूको उच्च उत्साहवर्धक हौसला बढाएका थिए।
यस अवसरमा कमिटीका अध्यक्ष रामस्वरूपले गाउँमा गोवर्धन पूजाको अवसरमा विगत ४ वर्षदेखि निरन्तर कुस्ती (दंगल) प्रतियोगिता हुँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिइने बताए । यस प्रकारका खेलकुदले युवाहरूमा खेलकुद र कुस्तीप्रति रुचि बढाउने उनको भनाइ रहेको थियो ।
कार्यक्रमको अन्त्यमा फाइनलमा पुगेका दुवै पहलवानलाई हात मिलाएर अखाडामा उतारिएको थियो भने दुवै पहलवानबीच कडा तथा बराबरीको टक्कर भएपछि दुवैलाई संयुक्त रूपमा बराबर पुरस्कार प्रदान गरी सम्मानित समेत गरिएको थियो ।
यस प्रतियोगितामा भारत र नेपाल दुवै देशका सीमावर्ती क्षेत्रका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा पहलवानहरूको हौसला बढाउनका लागि स्थानीय समाजसेवी तथा राजनेताहरू, कर्मसिंह, धर्मेन्द्र सिंह, बसन्त सिंह, प्रधान आशिक अली, रोहित, चुन्ना सिंह, भंवर सिंह, मस्तराम, चन्द्रभाल मौर्य, सन्दीप, सुमेर पहलवान, पैकराम लगायतका महानुभावहरूको सक्रिय सहभागिता रहेको थियो ।